७ अर्ब लगानीमा कास्कीमा ६.४१६ किलोमिटरको सिक्लेश अन्नपूर्ण केवलकार बन्ने



काठमाडौं । कास्की जिल्लाको मादी गाउँपालिकामा ६.४१६ किलोमिटरको सिक्लेश अन्नपूर्ण केवलकार बन्ने भएको छ ।

मादी गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर २ मा ६.४१६ किलोमिटर लामो केवलकार बन्ने भएको हो । यसका लागि सिक्लेश अन्नपूर्ण केवलकार प्रालिले निर्माणका लागि प्रस्ताव पेश गरेको छ ।

कम्पनीले आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत तयार गरिसकेको छ । कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ अन्तर्गतको सिक्लेश गाउँको प्वरयुम भन्ने ठाउँमा तल्लो स्टेशन र मादी गाउँपालिका वडा नम्बर २ अन्तर्गतको धर्मशाला नजिकैको तसल्इमा बीचको स्टेशन र मादी गाउँपालिका वडा नम्बर २ अन्तर्गतको कोरी डाँडामा माथिल्लो स्टेशन रहने गरी ६.४१६ किलोमिटर लामो केवलकार बन्ने भएको हो ।

कम्पनीले माेनोकेबल डेटाचेबल गोन्डोला प्रकारको केवलकार निर्माण भएको छ । जसमा माथिल्लो स्टेशन र तल्लो स्टेशनबीच १७८५ मिटरको उचाई भिन्नता रहनेछ ।

केवलकारमा ६० वटा गोन्डोलको संख्या हुनेछ । कम्पनीअनुसार अधिकतम प्रतिदिन ६ हजार क्षमता जनाले केवलकार प्रयोग गर्न सक्नेछन् । जसमा केवलकारको समय अवधि २५ मिनेटको हुनेछ ।

माथिल्लो स्टशेन र बीचको स्टेशन बीचको उचाई भिन्नता १०८५ मिटरको हुने प्रस्ताव पेश गरेको छ । साथै, तल्लो स्टेशन र बीचको स्टेशन बीचको उचाई भने ७०० मिटरको भिन्नता हुनेछ ।

त्यसैगरी, केवलकारको दायाँ र बाँया भाग कुल १०/१० मिटरको दुरीमा बन्ने भएको छ । जसमा केन्द्र भागबाट १० मिटर दायाँ र १० मिटर बायाँको हुनेछ ।

कम्पनीले स्वदेशी तथा विदेशी पर्यटक लक्षित केबलकार निर्माण गर्ने भएको जनाएको छ । कम्पनीले मादी गाउँपालिकामा ३० वटा टावरसहितको केवलकार निर्माण गर्नेछ ।

त्यस्तै, कम्पनीले तल्लो स्टेशन कुल ११३५ वर्गमिटरमा टर्मिनल भवन निर्माण गर्नेछ । कम्पनीले ८५५ वर्गमिटरमा टर्मिनल भवन र चौकीदार भवन, स्टाफ क्वाटर, स्टोर भवन २८० मिटरको निर्माण गर्नेछ ।

कम्पनीअनुसार निर्माण हुने भवनमा एलभी रुम, अपरेटर रुम, वेटिङ रुम, लोडिङ/अनलोडिङ एरिया, गोन्डोला पार्किङ हल, गोन्डोला मेन्टेनेन्स जोन, चौकीदार भवन, अफिस भवन, स्टाफ क्वाटर, स्टोर भवन, रेस्ट रुम, गजबोस, कार पार्किङको व्यवस्था गर्ने भएको छ ।

बीचको स्टेशनमा ११८७ वर्गमिटरमा टर्मिनल भवन, स्टाफ भवन, भण्डार गृह, आराम गर्ने हल ६१६ वर्गमिटर गरी १८०३ वर्गमिटरमा बन्ने भएको छ । टर्मिनल भवनमा एलभी रुम, अपरेटर रुम, लोडिङ/अनलोडिङ एरिया, गोन्डोला पार्किङ हल, गोन्डोला मेन्टेनेन्स जोन, चौकीदार भवन, अफिस, स्टाफ क्वाटर, भण्डार गृह, रेस्ट रुम, गजबोसको व्यवस्था हुनेछ ।

त्यसैगरी, माथिल्लो स्टेशनमा ५९० वर्गमिटरमा टर्मिनल भवन र स्टाफ भवन, भण्डार, आराम गर्ने हल ९५२ वर्गमिटर गरी १५४२ वर्गमिटरमा बन्ने भएको छ । टर्मिनल भवनमा एलभी रुम, अपरेटर रुम, लोडिङ/अनलोडिङ एरिया, वेटिङ रुम, चौकीदार भवन, अफिस, स्टाफ भवन, भण्डार गृह, एयर कन्डिसनर र अक्सिजनसहितको आराम गर्ने हल, बिश्राम गर्ने कोठाहरु र गजबोसको व्यवस्था हुनेछ ।

कम्पनीले ३ वर्ष ५ महिनामा निर्माण गर्ने सक्ने जनाएको छ । कम्पनीअनुसार पूर्व निर्माण अवधि एक वर्ष, वित्तिय बन्द अवधि १ वर्ष र निर्माण अवधि १ वर्ष ५ महिना लाग्ने जनाएको छ । साथै, कम्पनीले ३० वर्षको सञ्चालन अवधि तोकेको छ ।

केबलकार निर्माण गर्न ६ अर्ब ९० करोड ३७ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । साथै, केवलकार निर्माण गर्ने क्रममा ६०० जना र सञ्चालन चरणमा ५० जनाले प्रत्यक्ष रोजगार पाउनेछन् ।

आयोजनाको कुल वातावरणीय लागत ३ करोड ४६ लाख ३६ हजार रुपैयाँ अनुमान गरेको छ । जसमध्ये न्यूनीकरण लागि १ करोड ६३ लाख ६३ हजार रुपैयाँ, अनुगमनका लागि १५ लाख रुपैयाँ, वातावरणीय परीक्षणका लागि २ लाख ५० हजार रुपैयाँ र सामाजिक उत्तरदायित्वको लागि १ करोड ६५ लाख रुपैयाँ अनुमानित गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित यस आयोजनाका सम्पूर्ण संरचनाहरुको निर्माण गर्दा करिब २७.९९ हेक्टर जमिन आवश्यक रहेको कम्पनीको भनाइ छ । जसमध्ये तल्लो स्टेशनको लागि ७.४६ हेक्टर, बीचको स्टेशनको लागि २.०४ हेक्टर र माथिल्लो स्टेशनको लागि ५.७६ हेक्टर र टावर र रोको लागि १२.७३ हेक्टर आवश्यक रहेको छ ।


क्लिकमान्डु