चुनावमा मतदाताले थप एक परीक्षण किन नगर्ने ?



जोखिम मोलेर भए पनि यस पटक मतदाताहरू यसको परीणाम भोग्न तयार देखिन्छन् भन्दा अन्यथा नहोला । केही समय अगाडिमात्र त्यसको थालनी जनताले (मतदाताहरुले) गरिसकेका छन् । र त्यसको तत्कालीन असर सुखदरूपमा अनुभूति पनि गरिसकेका छन् ।

तथापि, भविष्यको कुरो त्यसैको गर्भमा सुरक्षित छ । क्रमैसँग महशुस हुँदै जाला, जुन सुखद् नै हुन्छ भन्ने कुरामा पनि उनीहरु आश्वस्त देखिन्छन् । यसर्थ यसपटक धेरै नयाँ अनुहारहरू स्थानीय निकायले चुनेका स्वतन्त्रहरूको प्रतिच्छाया बनेर संसद् र प्रदेशसभाको यात्रा गर्ने छन् भन्ने कुरामा संदेह रहेन ।

यद्यपि यो मार्गमा स्वयं नयाँ भनिएर आएका अनुहारहरू नै बाधक नहोलान् भन्ने स्थिति अझै तयार भाएको छैन । स्वतन्त्र भनेर उम्मेदवारी दिएकाहरुले जसरी छिटफुट रुपमा आफ्नो उम्मेद्वारी निश्क्रिय पार्दै दलका उम्मेदवारहरुलाई समर्थन गर्दैछन्, त्यसले पक्कै पनि संशयगत आशंका उब्जाउँछ । यही कारण स्वतन्त्ररूपमा उठ्नेहरु र दलका नेताहरुको उडन्ते भाषण र समाजिक सञ्जालको भेलमा द्रविभूत हुने मतदाताहरु बाहेक अन्यलाई भने यसपटक सही र गलत पर्गेल्न निकै कठिन हुनेछ । र, तीनै यसपटकका निर्णायक मतदाता हुने छन् ।

साथै, दलका नेताहरुलाई मात्र वा भनौं, सम्बन्धित उम्मेद्वारहरुलाई मात्र यसपटक हराउनु पर्छ भन्ने भाष्य पनि निकै डरलाग्दो तत्वको रूपमा आइरहेको देखिन्छ । स्वतन्त्रहरू बीचका खराबलाई पनि चिर्नु पर्ने दायित्य यस पटक मतदाताहरुलाई छ ।

तर, यति भनिरहँदा तुलनात्मक रूपया स्वतन्त्रहरु बीचनै राम्रा उमेदवार चुनेर जे हुन्छ, जसो हुन्छ, त्यसको जिम्मेवारी आफै लिउँला भन्ने मानसिकताका साथ मतदाताहरुले मतदान गर्ने मनस्थिति बनाउनु आजको आवश्यकता हो । हिँजो दलहरुले धेरै किसिमका परिवर्तनका संवाहक बनेर यो देशलाई परीक्षण गरे । परिवर्तन ल्याए । त्यसको उच्च सम्मान गर्दै उनीहरुको बाटो पछ्याउँदै थप एक परीक्षण जनताले किन नगर्ने ?

तसर्थ, नयाँ अनुहारहरुलाई यस पटक परीक्षित किन नगर्ने त रु राम्रो भयो भने त्यसको श्रेय सबैले लिउँला, भएन भने एउटा अर्को परीक्षण भनेर भोगौंला । यसमा आम मतदाताहरु तयार हुनुपर्छ ।

दलहरुका चुनावी रणनीति तथा हतकण्डाहरु देख्दा मतदाताहरु कुनै एक अमुक दलको सिद्धान्तप्रति बफादार हुनुपर्ने तथाकथिक ऋणबाट मुक्त भएका छन् । यसर्थ यसपटक अमुक दलप्रति निष्ठावान र इमानदार मतदाताहरुलाई थप सहज दलहरु आफैंले गराइदिएका छन् । यसको भरपुर सदुपयोग यसपटक हुनपर्छ । तर, दलका नेताहरूलाई मात्र रोक्नुपर्छ भन्ने भाष्यलाई पनि चिर्नु आवश्यक छ । किनभने, दल इतरका अन्य उम्मेदवारहरू पनि सबै योग्य छन् भन्ने हुँदैन । यसकारण यसपटक तुलनात्मक हिसाबले मतदान गरिनु आवश्यक छ । तथापि यसैपटक सबै चमत्कार हुन्छ भन्ने होइन । तर, सुध्रिन तयार नदेखिएका दल र तिनका नेताहरुलाई दह्रो झापड पर्ने पक्का छ ।

अघिल्लो लेखबाट शब्दहरु सापट लिएर यस्तो भनौं त्यस्तै विकास र आधुनिकीकरणको दुहायी दिँदै प्राकृतिक परिस्थितिको चक्रलाई विनास गर्ने अभिशप्तहरुले निम्त्याउने ‘ग्लोबल वार्मिङ’जस्ता प्राकृतिक विनाश गर्ने अज्ञानी लक्ष्य भएकाहरूलाई पनि यसपटक रोक्नु पर्ने नै छ ।

फलस्वरूप एउटा युगको सफल अन्त्य गराउनतर्फ मतदाताहरु अग्रसर होउन् ।

यति भनिरहँदा पछिल्ला दिनहरूमा देश विकास हुँदै नभएको भन्ने आशय होइन । यतिमात्र हो, आशातीत परीणाम जनताहरुले महशुस गर्न पाएका छैनन् । जुन गतिमा विकासको रफ्तार हुनु पर्थ्यो, त्यो हुन सकेन । जनताको जीवनस्तरमा कुनै सुधार आउन सकेन । सर्वहारा वर्गको नारा र समाजवादको नारामा राजनीति गर्नेहरुले ती शब्दलाई मागी खाने भाँडो मात्र बनाए ।

समाजवादको नाममा बाँडिएका भत्ताको दुहायीमा चुनाव लड़ने अस्त्र मात्र बनाए । एक डाडु पानीमा डुबेर किन मर्दैनन्, ति जो बृद्धभत्ताको सुरुवातकर्ता, पुनः वृद्धिकर्ता र उमेर सीमा घटाउकर्ताको जस लिएर चुनाव जित्ने दाउमा छन् । हो, यस्तै कू र खलपात्रहरुको अन्त्यको खातिर पनि सक्षम उम्मेद्वार यसपटक चुनिनु पर्छ ।

स्वतन्त्रहरुका हुलबाट सक्षम तथा दलहरुका हुल पनि सक्षम र परिक्षण नभएको उम्मेद्वार रोजौं । प्राथमिकता स्वतन्त्र र युवाको नाममा होइन, निष्ठा ईमानदार सक्षम र ल्याकत भएकाहरुलाई मात्र दिऔं ।

अन्त्यमा धेरै स्वतन्त्रहरु एकै क्षेत्रमा भिँड्दा आशातित परिणाम आउनेमा सन्देह छ । यही कारण अहिले पनि सम्भावना नभएकाहरुले आफ्नो उम्मेद्वारीलाई निश्क्रिय गर्दै घडीको सुईले बिनापूर्वाग्रह समय दिएको जस्तै सक्षम, स्वतन्त्रलाई साथ दिएर जित सुनिश्चित गरौँ ।


क्लिकमान्डु