प्रचण्डहरुले प्रतिगमन गरिरहेका छन्: मोहन वैद्य



काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन् ।

बुधबार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा क्रान्तिकारी माओवादी, नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिष्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताए ।

उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए ।
उनले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए ।

महासचिव वैद्यले राज्यका तीनवटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताए ।

शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भए पनि तीन अंगबीच शक्ति सङ्घर्ष चलिरहेको उनले बताए ।

निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको उनको भनाइ थियो ।

शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रोश पोखे । प्रतिगमनको बिरुद्धमा लडेको भने प्रचण्डले आफूहरु माथि प्रतिगमन गरेको उनको आरोप थियो ।

जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका बिरुद्ध लड्ने हो भनि उनले प्रश्न गरे ।

‘प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’

त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन संयुक्त सरकार बनाउनुपर्ने बताए ।

स्वाधिन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै निर्वाचन गर्नसकिने उनको भनाइ छ । उनले मंसिर ४ गते हुने निर्वाचनलाई अवज्ञा गर्न जनतालाई अपील गरे ।


क्लिकमान्डु