अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या



चितवन । चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।

सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो ।

मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन । भरतपुरको समस्या समाधान गर्ने गरी काम भइरहेको उनले बताए ।

सडक विस्तारका क्रममा दूरसञ्चार कार्यालयलाई जानकारी नदिई तार काट्दा पटक–पटक समस्या हुने गरेको मिश्रले बताए । थोरै सावधानी नअपनाउँदा नागरिकलाई सास्ती र नेपाल टेलिकमलाई लाखौँ रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ ।


क्लिकमान्डु