काभ्रे २: ७० करोड काण्डले कमजोर बने गोकुल बास्कोटा



काठमाडौं । काभ्रे २ को निर्वाचन यसपटक फरक हुँदैछ । २०४८ र २०५१ मा एमालेले लगातार यो क्षेत्रमा जितेयता रोचक प्रतिस्पर्धा हुँदै आएको छ ।

अर्थात् आलोपालोमा २०५६ मा कांग्रेसका शिव हुमागाईं विजयी भए । २०६४ को पहिलो संविधानसभामा एमालेका कृष्णप्रसाद सापकोटा विजयी भए । २०७० मा फेरि यो क्षेत्रको चुनावी परिणाम कांग्रेसको पोल्टामा पर्यो । कञ्चनचन्द्र बादे श्रेष्ठले गोकुल बाँस्कोटालाई पराजित गरे ।

२०७४ मा फेरि नतिजा उल्टिँदा माओवादीको साथमा एमालेका गोकुल बाँस्कोटा विजयी हुन पुगे । त्यसैले यसपटक यो क्षेत्र कांग्रेसको पोल्टामा पर्ने देखिन्छ । केही दलीय र स्वतन्त्र अनुहार देखिए पनि काभ्रे २ मा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ सालमा एमाले र माओवादी मिल्दा कांग्रेसले सहजै चुनाव हारेको थियो । तर यसपटक स्थानीय तहदेखि नै कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका छन् ।

विभाजनको सबैभन्दा धेरै असर पनि एमालेले देशैभर भोग्दैछ । यतिमात्रै होइन २०७४ को चुनावमा सानदार जित दर्ता गरेपछि अप्रत्याशित रुपमा राष्ट्रिय राजनीतिमा चर्चा र विवादका आएका गोकुल बाँस्कोटा फेरि उम्मेदवार बनेपछि यसपटक काभ्रे २ को चुनाव फरक हुँदैछ ।

देशभरको आँखा पर्नुको कारण हो-सेक्युरिटी प्रेस खरिदमा ७० करोडको मोलमोलाई गरेको अडियो बाहिरिनु । विवादमा तानिएका गोकुल बाँस्कोटा नै उम्मेदवार बन्न पुगे ।

यो अडियो बाहिरिएपछि सञ्चार मन्त्री र सरकारको प्रवक्ताबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै उनलाई फिर्ता बोलाएका थिए । बाँस्कोटाको त्यो अडियोबारे स्वतन्त्र पुष्टि भइसकेको छैन । तर, मन्त्रीबाट फिर्ता बोलाएपछि ओली स्वयंमले चाहेर पनि उनलाई दोस्रोपटक मन्त्री बनाउन सकेनन् ।

सोही विवादको न्यायिक र स्वतन्त्र निरुपण नभई चुनावी मैदानमा उत्रिएका कारण यसपटक बाँस्कोटामाथि अत्याधिक प्रश्न नागरिक स्तरमा उठेको छ । पार्टी तहमा विवादितलाई किन उम्मेदवार बनाइयो भन्ने प्रश्न उत्तिकै छन् । तर अध्यक्ष ओलीसँगको विशेष सम्बन्धका कारण बाँस्कोटाले फेरि पनि टिकट हत्यारै छोडे ।

यसपटक उनीविरुद्ध कांग्रेसका शिव हुमागाईं चुनावी मैदानमा उत्रिएका छन् । २०५६ मै एमालेको बलियो प्रभाव तोडेर हुमागाईंले आफ्नो तागत देखाइसकेका छन् । यतिमात्रै होइन भूगोलमा बसेर काभ्रे कांग्रेसको सभापति चलाएकोले हुमागाईं पार्टीको तल्लो तहसम्मै परिचित छन् ।

खरो र रुखो शैलीका कारण आलोचित हुँदै आएका उनै बाँस्कोटाले यसपटक शान्त र नम्र शैलीमा प्रस्तुत हुने हुमागाईंसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एमालेकै नेता कार्यकर्ताले पनि हुमागाईंको यो नम्र र व्यवहारिक शैलीलाई मन पराउँछन् । यो आफैंमा कांग्रेसको बलियो प्रभाव रहेको क्षेत्र हो । सत्ता गठबन्धनको शक्ति, स्थानीय तहको चुनावी परिणाम, एमाले विभाजनको असरले यसपटक गोकुललाई सहज छैन ।

स्थानीय तहमा धक्का

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले धक्का खाएको छ । यस अघि जितेका पनौती, बनेपा, मण्डन देउपुरजस्ता महत्वपूर्ण इलाका गुमाएको छ । यी पालिकाका केही वडाबाहेक प्रायः गोकुलकै क्षेत्रमा पर्छन् । काभ्रे २ मा पाँचखाल, मण्डन देउपुर र बनेपा नगरपालिका पर्छन् । धुलिखेल नगरपालिकाका १ देखि ७ नम्बर वडा, पनौती नगरपालिकाका १, २, ३, ११ र १२ नम्बर वडा पर्छन् । त्यस्तै, बेथानचोक गाउँपालिकाका १ देखि ५ सम्मका यो क्षेत्रमा पर्छन् ।

स्थानीय तहको यसपटकको निर्वाचनमा गोकुलले एमालेलाई आफ्नै गृहनगर देउपुरमा जिताउन सकेनन् । नेकपा एसका नेता टोकबहादुर वाइबा फेरि जित्न पुगे । अघिल्लोपटक पनि एमालेमै रहँदा उनी निर्वाचित भएका थिए । यीमध्ये बनेपा र पनौती नगरपालिकामा एमालेलाई यसपटक कांग्रेसले पराजित गर्यो । जुन एमालेका बलिया आधार इलाका थिए । पाँचखालमा अघिल्लोपटक जस्तै कांग्रेसकै महेश खरेल विजयी भए । बेथानचोकमा पनि कांग्रेसले फेरि विजयको झण्डा गाडेको छ । यसैले पनि चुनाव जित्न हुमागाईंलाई सहज र बाँस्कोटालाई कठिन देखिएको हो ।

मतमा कति अगाडि छ गठबन्धन ?

स्थानीय तहको यसपटकको निर्वाचनमा काभ्रे २ वडाध्यक्षतर्फ एमालेले ४५ हजार ५१४ मत ल्याएको थियो । कांग्रेसले ४५४५६ मत पाएको छ । अर्थात यो क्षेत्रमा गठबन्धन नै नहुँदा पनि एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । एक्लै चुनाव लडेकोले एमालेले यो क्षेत्रभरका सबै वडामा उम्मेदवार उतारेको थियो । तर गठबन्धन हुँदा सबैतिर कांग्रेस बाहेकका अरु दलका उम्मेदवार कम थिए । यसैले कांग्रेस बाहेकका उम्मेदवारले पाएको मत धेरै वास्तविक नहुने देखिन्छ ।

माओवादीको साथ, नेकपा विभाजनपछि नेकपा एसको साथ हुने भएपछि प्रतिस्पर्धामा कांग्रेसलाई सहज हुने देखिन्छ । नेकपा एसले ८६७६, माओवादीले ६३७० र राप्रपाले २३५४ मत ल्याएको छ । माओवादी र नेकपा एस यो क्षेत्रमा निर्णायक देखिन्छन् ।

जहाँ गठबन्धनको संयुक्त मत ६० हजार ५०२ छ । एमाले १४९८८ मतले पछाडि छ । सत्ता गठबन्धन, एमाले विभाजनको असर र आफ्नैबारे विवाद देखिएपछि गोकुललाई हुमागाईंविरुद्धको चुनाव सहज नहुने देखिएको हो ।

माओवादीको साथ पाउँदा २०७४ सालमा गोकुलले सहज जित दर्ता गरेका थिए । तर सोही चुनावको समानुपातिक मतबाट माओवादीलाई अहिलेको कांग्रेसको गठबन्धनमा राख्दा गोकुल त्यतिखेरैको मतको लेखाजोखामा थोरै मतले पछाडि पर्ने देखाउँछ ।

२०७४ मा एमालेले प्रत्यक्षमा जित्दा समानुपातिकमा ४३०५० मत ल्याएको थियो । कांग्रेसले ३२३९० मत प्राप्त गरेको थियो । माओवादीले ११२५४ मत ल्याएको थियो । तर पहिले एमालेसँग रहेको माओवादी यसपटक कांग्रेससँग छ । अहिले गठबन्धन हुँदा माओवादीको मत कांग्रेसतिर राख्दा पहिलेकै मतको अनुपातमा काभ्रे २ मा एमाले ५९४ मतले पछाडि देखिन्छ ।

तर स्थानीय तहको यसपटकको मतको आधारमा विश्लेषण गर्दा गठबन्धनभन्दा एमाले झण्डै १५ हजार मतले पछाडि देखिन्छ । गठबन्धनमा आवद्ध सबै दलले केही वडामा तालमेल पनि गरेका थिए । तर एमाले सबै ठाउँमा एक्लै भिडेको थियो । यो एमालेको लगभग मिल्ने मत हो । बढेको मतदाताले थोरै अंक माथि पुर्याउन सक्छन् । तर जित्ने गरी मत बटुल्न विवादित छविका बाँस्कोटालाई कठिन देखिन्छ ।

छोटो समयमै चर्चित छोटो समयमै बदनाम बाँस्कोटा

गोकुल राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा जति छिटो चढे उति छिटो झरे । अर्थात बलिया र प्रभावशालीलाई पछि पार्दै छिटो माथि पुगे । तर धेरैसमय टिक्न सकेनन् । अध्यक्ष ओलीसँगको गहिरो सम्बन्धनका कारण छिट्टै माथि पुगे । तर विवादपछि उनी लामो समय नअडि एक्कासी ढल्न पुगे ।

सांसद र केन्द्रीय सदस्य भएको लामो समयपछि अरु नेताले एमालेमा थोरैमात्रै अवसर पाउने गरेका छन् । तर गोकुलका लागि भने ओलीसँगको विशेष सम्बन्धनले लो प्रोफाइनलमा उच्च पद दिइएपछि एमालेभित्रै तीव्र असन्तुष्टि थियो । तर ओली र गोकुलको विशेष सम्बन्धका कारण कसैले मुख खोल्न भने सक्दैनथे ।

संचार मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गोकुलको ओरालो यात्रा सुरु भयो । त्यसैले जबर्जस्त प्रभाव एकाएक खस्कियो । शक्तिशाली दुई तिहाई हाराहारी मतको प्रधानमन्त्री हुँदासमेत ओलीले नै गोकुललाई बचाउन सकेनन् । त्यही अडियोले गर्दा नैतिकताको आधारमा उनले राजीनामा दिए । छानविन गरेर उनलाई दोषी वा निर्दोष के हो प्रष्ट्याउने काम भएन । यसैले आज पनि गोकुलमाथि थुप्रै नैतिक प्रश्न उठिरहेका छन् ।

छोटो समयमा अत्याधिक शक्ति र सामथ्र्य प्राप्त गर्नुका कारण आफ्नै विरासत र शक्तिभन्दा ओलीको धाप धेरै थियो । यसैले उनी सत्ता र शक्तिको शिखरमा चढे पनि उनलाई ठूलो राजनीतिक क्षति पुर्यायो । आरोप लागिसकेपछि यो मुद्दाले किनारा नपाउँदा विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध प्रश्न उठाउने ठाउँ दिएको छ ।

एमाले विभाजनको असर उत्तिकै

नेकपा हुँदै एमाले विभाजनको असर अन्य जिल्लामा भन्दा काभ्रेमा धेरै छ । प्रभावशाली नेताले नै एमाले त्यागे । उनीहरूले नेकपा एस रोजेपछि यो नै गोकुलका लागि ठूलो चुनौती बन्न पुग्यो । २०६४ सालको पहिलो संविधानसभामा जितेका कृष्णप्रसाद सापकोटा नै अहिले एमालेमा छैनन् । २०७० मा गोकुल बाँस्कोटा पराजित भएपछि सापकोटा एमालेमा अपमानजनक स्थितिमा रहे । यसैले उनी एमाले विभाजनपछि नेकपा एसमा लागेका छन् । पार्टीका पूर्व सचिव एवं विदुर सापकोटा पनि एमालेमा छैनन् ।

यी दुई मात्रै होइनन् प्रदेशसभामा निर्वाचित भएका वसुन्धारा हुमागाईं र लक्ष्मण लम्साल एमालेमा छैनन् । अर्थात उनीहरू नेकपा एसमा सक्रियतापूर्वक लागेका छन् । अर्का प्रभावशाली नेता टोकबहादुर वाइबा पनि अहिले एमाले छोडी नेकपा एसमा सक्रिय छन् । उनी मण्डन देउपुरको मेयरमा नेकपा एसबाट विजयी भएका थिए । यसरी गोकुलको टिमसँग यतिखेर कुनै समयमा एमालेका प्रभावशाली नेताको लहर नै छैन । यसैले पनि हुमागाईंसँगको प्रतिस्पर्धा बाँस्कोटाको लागि कठिन हुने बताइन्छ । एमालेमा सक्रिय र प्रभावशाली रहेको हिस्सा नै अन्यत्र गएपछि गोकुललाई थप संकट देखिएको हो ।

दुवैको जित्ने दाबी

सत्ता गठबन्धनतर्फ काभ्रे २ मा कांग्रेसका उम्मेदवार रहेका शिवप्रसाद हुमागाईं सत्ता गठबन्धनको बलमा कांभ्रेमा यसपटक कांग्रेसले विजयको झण्ड फहराउने बताउँछन् ।

‘मैंले पहिले जित्दा पनि जनताको भावना र विश्वासलाई तोड्ने काम गरिनँ । २०५६ सालमा जितेपछि भएका विद्युतीकरण, खानेपानी, बाटोघाटोको विकासजस्ता जनपक्षीय कामका लागि २३ वर्षपछि पनि नगारिकले मलाई सम्झन्छन्’ हुमागाईं भन्छन्, ‘तर यहाँ लोकतन्त्र मास्ने र भ्रष्टाचारमा डुबेर जनता र मतदाताको आस्था र विचारमाथि ठेस पुर्याउने काम भएका छन् । यस्ता गलत काममा म कदामी लाग्ने छैन । यसपटक भ्रष्टाचार र अनियमितता होइन विकास, समृद्धि र सत्कर्मकाको लागि मलाई काभ्रेली जनताले मलाई विश्वास गर्छन् र जिताउँछन् भन्ने विश्वास लिएको छु ।’

पहिलेदेखि नै कांग्रेस बलियो रहेको, १६ हजार मतान्तरले अघि रहेको, सधैं नागरिकको घरदैलोमा रहेर समस्याको समाधानमा लाग्नु नै आफ्नो लागि जितको आधार भएको उनी बताउँछन् ।

‘कांग्रेस काभ्रेमा पहिलेदेखि नै बलियो अवस्थामा रहेको पार्टी हो । यसपटक सत्ता गठबन्धनको बलमा हामी धेरै दल एक भएर अघि बढेका छौ । यसैले काभ्रे २ मा हामी सबै गठबन्धनले जित्ने माहोल बनिसकेको छ’ हुमागाईं भन्छन्, ‘म काभ्रेली जनताको शीर निहुर्याउने गरी कुनै गलत काम गर्दिनँ । मेरो यो मन्त्रलाई नागरिक र मतदाताले रुचाउँछन् ।’

काभ्रे २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटा आफूले गरेको कामबारे काभ्रेली जनताले गरेको बोध नै आफ्नो लागि जितको आधार भएको दाबी गर्छन् ।

‘मैंले काभ्रेका लागि के कति गरेको छु भनेर मैंले भन्नै पर्दैन । जनता आफैंले मलाई बुझेका छन् । मैंले सांसद् भएपछि गरेका कामहरूको फेहरिस्त जनताले देखेका छन्, बुझेका छन्’ बाँस्कोटा भन्छन्, ‘मैंले प्रतिवद्धता गरेकोभन्दा बढी काम गरेपछि फेरि पनि काभ्रेका जनताले मलाई राम्रोसँग बुझेका छन् भन्ने लाग्छ । यसैले मेरो कामको परीक्षण गर्दा नागरिकले आनन्द महशुससमेत गर्छन् । मेरो कामको मूल्यांकन गरेर जनताले मलाई जिताउँछन् ।’

आफूले मन्त्री हुँदा गरेको विकास हेरेर भोट हाल्न उनले पटकपटक आग्रह गर्दै आएका छन् । तर, विकासका योजनामा ठाउँ हेरेर पक्षपात गरेको आरोपसमेत गोकुललाई लाग्ने गरेको छ ।


क्लिकमान्डु