हामीले चुच्चे नक्सा बनाउन बाध्य पारेपछि ओलीले आत्मसमर्पण गरे: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारतले अतिक्रमण गरेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्न तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतले केपी शर्मा ओलीलाई बाध्य पारेपछि उनी तयार भएको दाबी गरेका छन् ।

गठबन्धनको दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजना गरेको चुनावी सभामा प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न दबाब दिएपछि तत्कालीन प्रधानमन्त्री ओली तयार भएको दाबी गरेका हुन् ।

प्रचण्डले ओलीले चुच्चे नक्सा नबनाएको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले नक्सा बनाएको केही समयपछि ओलीले आत्मसमर्पण गरेका तर्क गरे ।

नक्साले संसद्बाट वैधानिकता पाउनका लागि कांग्रेस र मधेस केन्द्रित दलहरूको भूमिका रहेको उनको भनाइ थियो ।

ओलीले केही दिन पहिले दार्चुलाको खलंगामा आयोजित चुनावी सभामा आफ्नो नेतृत्वमा आगामी सरकार बन्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरेका थिए ।


क्लिकमान्डु