बैंकको सेयर कारोबारबाट हुने आम्दानी ३८.६८ प्रतिशतले घट्यो



काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगै वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी घटेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकहरुको सेयर कारोबारबाट हुने आय ३८.६८ प्रतिशतले घटेको हो । गत आवको असोज मसान्तमा बैंकहरुले २ अर्ब ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेका थिए । चालु आवको असोज मसान्तसम्म आइपुग्दा ३८.६८ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ३२ लाख २२ हजार रुपैयाँ रहेको छ ।

यो तीन महिनाको अवधिमा सेयर बजार १०१.०१ अंकले घटेको छ । साउन १ गते बजार २०११.३९ बिन्दुमा रहेको थियो । असोज मसान्तमा आइपुग्दा बजार १०१.०१ अंकले घटेर १९१०.३८ बिन्दुमा रहेको छ ।

यो अवधिमा बजारमा आएको गिरावटले बैंकहरुले गर्ने नेट ट्रेडिङ इनकम घटेको छ । तीन महिनाको अवधिमा माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले मात्रै सेयर बजारमा गरेको लगानीबाट आम्दानी गरेका छन् । बाँकी बैंकको घटेको छ ।

यता नेपाल बैंकले त सेयर बजारमा गरेको लगानीबाट कमाउनु भन्दा पनि ऋणात्मक बनेको छ । गत असोज मसान्तमा ९ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिलेको असोज मसान्तसम्म आइपुग्दा २ करोड ८३ लाख २२ हजार रुपैयाँ ऋणात्मक बनेको छ ।

बैंकहरुले असोज मसान्तसम्म प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार माछापुच्छ्रे बैंकले सेयर बजारमा गरेको लगानीबाट ८ करोड ६६ लाख ९९ हजार आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६१.४६५ प्रतिशतले बढी हो । यस्तै नेपाल एसबीआई बैंकले ८ करोड १९ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६४.३० प्रतिशतले बढी हो ।

गत असोज मसान्तसम्म कृषि विकास बैंकको यस्तो आम्दानी ४ करोड १ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेकामा चालु आवको तीन महिनामा आइपुग्दा बढेर ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ९३.८९ प्रतिशतले घटेर ९ लाख १७ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा १ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

सेञ्चुरी बैंकको ८९.७८, सिभिल बैंकको ६९.७२, सिटिजन्स बैंकको ७३.९९, मेगा बैंैकको ६७.६२, प्रभु बैंकको ५६.७५, सनराइज बैंकको ६९.२२, एनआईसी एशिया बैंकको ५९.३८, बैंक अफ काठमाण्डूको ६२.३३, एभरेष्ट बैंकको ६०.९७, एनसीसी बैंकको ११.६६, लक्ष्मी बैंकको सेयर कारोबारबाट हुने आम्दानी १९.८२ प्रतिशतले घटेको छ ।

यस्तै प्राइम बैंकको ३३.३०, सिद्धार्थ बैंकको ५८.७७, कुमारी बैंकको ४७.९३, एनएमबि बैंकको ३२.१८, सानिमा बैंकको १५.०९, नेपाल इन्भेष्टमेन्ट बैैंकको ४९.५३, हिमालयन बैंकको ३०.२९, ग्लोबल आइएमई बैंकको ३९.०५, नबिल बैंकको १७.०५ र स्टयान्डर्ड चार्टर्ड बैंकको ६.०७ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा बैंकहरुलाई दिएको छ । बैंकहरुले सो सुविधामार्फत् सेयर बजारमार्फत् गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्छ । बैंकहरुले राष्ट्र बैंकको प्रावधानमा रहेर सेयरमा गरेको लगानी बाहेक सेयर खरिदबिक्री गरी कमाएको आम्दानी अन्य सञ्चालन नाफामा राख्ने गर्दछन् ।

चालु आवको तीन महिनामा सेयर कारोबार मात्र नभएर ट्रेड फाइनान्सको बिजनेस पनि घटेकाले बैंकहरुको नेट ट्रेडिङ इनकम घटेको सिभिल बैंकका सीईओ सुनिल पोखरेलले बताए । पछिल्लो समय डलरको बिक्री कम हुँदा पनि यस्तो कमाइ घटेको उनको भनाइ छ ।


क्लिकमान्डु