प्रचण्डविरुद्ध मत मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त



पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् ।

मंसिर ४ गतेको निर्वाचनमा एमालेको पक्षमा मत मागेको भन्दै उनलाई बर्खास्त गरिएको हो । मन्त्रिपरिषद्‍मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगेको छ ।

आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए । यसपटक पनि उनी प्रदेश सभा निर्वाचनका लागि टिकटका आकांक्षी थिए । तर उनले टिकट पाएनन् । टिकट नपाएपछि बागी उम्मेदवारी दिएका उनले पछि उम्मेदवारी फिर्ता गरेका थिए ।

प्रतिनिधि सभामा बाबुराम भट्टराईको दलले प्रचण्डलाई समर्थन गरेसँगै उनले एमालेको पक्षमा मत मागेको माओवादीको आरोप छ ।

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेपछि कांग्रेस नेतृत्वमा बनेको सरकारमा उनी तत्कालीन जसपाबाट मन्त्री बनेका थिए ।

एमालेलाई सघाएको आरोपपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आचार्यलाई मन्त्रीबाट हटाउन आग्रह गरेका थिए ।

त्यसपछि सभापति देउवाले मन्त्री आचार्यलाई हटाउन कांग्रेसबाट मुख्यमन्त्री रहेका नेपालीलाई निर्देशन दिएका थिए ।


क्लिकमान्डु