८ वर्षमा नेपालबाट साढे ६५ अर्बको धागो निर्यात, कुन देशमा कति ?



काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमध्ये धागो पनि मुख्य ५ भित्र रहेको छ । वैदेशिक व्यापारमा नेपालको निर्यात निकै कमजोर भए पनि पछिल्ला दिनहरुमा विभिन्न प्रकारका वस्तुको निर्यात बढ्दै गएको देखिन्छ ।

त्यस्तै, नेपालबाट मुख्य वस्तुको रुपमा निर्यात हुँदै आएको धागो ८ वर्र्षको अवधिमा साढे ६५ अर्ब बढीको निकासी भएको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७८/७९ सम्ममा ६५ अर्ब ६६ करोड ८० अर्ब ६८ लाख रुपैयाँको २६ करोड १७ लाख ८६ हजार केजी धागो निर्यात गरेको छ ।

पछिल्लो समय धागो निर्यात उच्च भइरहेको छ । गत वर्षको निर्यात तथ्याङ्क हेर्दा भटमासको तेल र पाम तेलपछि धागो (पोलिस्टर, कटन र अन्य) निर्यात भएको छ ।

नेपालले चालु आर्थिक वर्षको ३ महिनाको मात्रै ३ अर्ब ७ करोड ७२ लाख १९ हजार रुपैयाँको १ करोड २ लाख ६८ हजार केजी धागो विभिन्न देशमा निर्यात गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७१/७२ मा ६ अर्ब ६४ करोड ९ लाख २१ हजार रुपैयाँको ३ करोड ३ लाख १९ हजार केजी, आव २०७२/७३ मा ५ अर्ब ३५ करोड ३९ लाख ७६ हजार रुपैयाँको २ करोड ५८ लाख ३१ हजार केजी, आव २०७३/७४ मा ६ अर्ब ९६ करोड ९१ लाख ७७ हजार रुपैयाँको ३ करोड ८६ हजार केजी र आव २०७४/७५ मा ८ अर्ब ४१ करोड १३ लाख ७० हजार रुपैयाँको ३ करोड २१ लाख ३५ हजार केजी धागो निर्यात गरेको छ ।

त्यस्तै, आव २०७५/७६ मा ९ अर्ब ७७ करोड १४ लाख ९९ हजार रुपैयाँको ३ करोड ८० लाख ६८ हजार केजी, आव २०७६/७७ मा ७ अर्ब २५ करोड ७ लाख ३१ हजार रुपैयाँको २ करोड ९५ लाख ५० हजार केजी, आव २०७७/७८ मा ८ अर्ब ५२ करोड ७५ लाख ४२ हजार रुपैयाँको ३ करोड ४९ लाख ९९ हजार केजी र आव २०७८/७९ मा १२ अर्ब ७४ करोड २८ लाख ५१ हजार रुपैयाँको ४ करोड ७ लाख ९३ हजार केजी धागो निर्यात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

तथ्याङ्क हेर्दा गत वर्ष हालसम्मकै उच्च धागो निर्यात भएको पाइएको छ ।

भारतपछि टर्की मुख्य बजार

नेपालले निर्यात गर्ने धागो मुख्य बजार भारत रहेको छ । वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारतमा नै अधिकांश धागो निर्यात गरेको तथ्याङ्कले दखाउँछ । भारतपछि टर्कीमा उच्च धागो निर्यात हुँदै आएको छ ।

नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३ अर्ब बढीको धागो निर्यात गर्दा भारतमा मात्रै २ अर्ब ४२ करोड १७ लाख रुपैयाँको ९१ लाख ४८ हजार केजी निकासी भएको छ ।

त्यस्तै, सो अवधिमा टर्कीमा ५९ करोड ८७ लाख ९२ हजार रुपैयाँको १९ लाख ७ हजार केजी निर्यात भएको छ । साथै, सिंगापुरमा १ करोड ४० लाख रुपैयाँको ४७ हजार केजी, भियतनाममा ५४ लाख ५४ हजार रुपैयाँको १२ हजार केजी, बेलायतमा ४३ लाख ८४ हजार रुपैयाँको ६ हजार ७४८ केजी र उत्तर कोरियामा १ लाख ३९ हजार रुपैयाँको ९९ केजी धागो निर्यात गरेको छ ।


क्लिकमान्डु