विद्युतकाे पोलमा भएका तार हटाउन प्राधिकरणको निर्देशन, अटेर गरे प्राधिकरणले हटाउने




काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको निर्देशन दिएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत् दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएकाे हाे ।

‘विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप बनाएको छ । आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु वढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ,’ जारी सूचनामा उल्लेख छ ।

आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

‘तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिक
रण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’ उपकार्यकारी निर्देशक सिलवालले भने ।

अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ । आगलागी भई धनजनको क्षति भएको छ । हाम्रो सेवा प्रवाह प्रभावित भएको छ । सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको उनकाे भनाइ छ ।

प्राधिकरणले अप्टिकल फाइबर/केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमश ः ८० र ३० सेन्टिमिटर हुनु पर्ने छ ।

११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ । अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २‍.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ । पोलहरुमा लुप वनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरुले निजहरुको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्नेछ ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ ।

तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ ।


क्लिकमान्डु