कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु, ३ जना घाइते



काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा दुईजना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।

कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडा शनिबार बिहान विष्फोटन हुँदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्तरमा र ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए । कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको उनले बताए ।
घाइतेको नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।


क्लिकमान्डु