सर्वोच्चको आदेशबारे धितोपत्र बोर्ड अनविज्ञ, स्टक र कमोडिटीका लागि परेन आवेदन



काठमाडौं । धितोपत्र बोर्डले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारे जानकारी नभएको जनाएको छ ।

सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर त्यसबारे आफूहरुलाई औपचारिक जानकारी नआएको बोर्डका अधिकारीहरुले जनाएका छन् ।

अदालतको आदेशबारे औपचारिक जानकारी नपाएको भन्दै बोर्डले नयाँ स्टक र वस्तु विनिमय बजार सञ्चालनका लागि खुला गरेको आवेदन दिने समय स्थगन गरेको छैन ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले आइतबार साढे ४ बजेसम्म सर्वोच्चबाट आदेशबारे कुनै जानकारी नआएको बताए ।

सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशबारे आफूले सुने पनि औपचारिक रुपमा पत्र नपाएको हमालको भनाइ छ ।

‘सर्वोच्चको आदेश बोर्डमा आएको छैन’ उनले भने, ‘त्यसैले गर्दा हाल कायम रहेको प्रकृया निरन्तर नै रहेको छ ।’

सर्वोच्चबाट पत्र आयो भने कसरी अघि बढ्ने भनेर कानूनी परामर्श गर्ने उनले बताए ।

अदालतले भने २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । हमालले औपचारिक जानकारी आएपछि अदालतमा गएर बोर्डका प्रतिनिधिले आफ्ना कुरा राख्ने जानकारी दिए ।

सर्वोच्चले आदेशको पत्र आइतबार नपठाए सोमबारदेखि तिहारको बिदा हुनेछ । अब कात्तिक १४ गते मात्रै कार्यालय खुल्नेछन् । नयाँ स्टक र वस्तुविनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय १५ गतेसम्म रहेको छ ।

नयाँ स्टक र वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय अन्तिम हुँदै जाँदा अहिलेसम्म कुनै पनि कम्पनीले आवेदन नदिएको बोर्डले जनाएको छ ।

अधिवक्ता दिपक क्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रकृया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । मिश्रले दायर गरेको रिट निवेदनमा अदालतले अर्को सुनुवाई नहुँदासम्म लागू हुनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै धितोपत्र बोर्डले नयाँ ब्रोकर खोल्नका लागि आवेदन दिने ३० दिनको समय राखेर सूचना निकालेको थियो । जसमा नयाँ ४५ र पुरानो एकसहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।


क्लिकमान्डु