साझा यातायातका ३७ वटा विद्युतीय बसहरु केरुङ नाका आइपुगे



काठमाडौं । साझा यातायातका विद्युतीय बसहरु केरुङ नाका आइपुगेका छन् ।

साझाका ४० विद्युतीय बसमध्ये यसअघि तीनवटा काठमाडौं ल्याइएको थियो भने अहिले ती बसहरु सञ्चालनमा रहेका छन् । बाँकी ३७ वटा विद्युतीय बसहरु केरुङ नाका हुँदै काठमाडौँतर्फ हिँडिसकेको साझाले जनाएको छ ।

यी बसहरु ल्याउनमा नेपालमा रहेको कम्पनी दिगोले साझा यातायातसँग स्थानीय तहमा सहकार्य गरेको कम्पनीले जनाएको छ। विद्युतीय गाडीहरुका साथ दिगोले इकोसिस्टमसँग सम्बन्धित ब्याट्री, रेट्रो-फिटिंग, चार्जिंग स्टेशन, सर्विसिंग इत्यदि जस्ता सेवाहरु पनि प्रदान गर्दै आएका र यो बढ्दो क्रममा नै रहेको जनाएको छ ।

चीनको प्रचलित कम्पनी सीएचटीसीद्वारा निर्मित यी बसहरुको उच्च गुणस्तरले काठमाडौँ बासीहरुलाई एउटा नयाँ आरामदायक अनुभव दिने छ भन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

नयाँ शुरुवातले काठमाडौँमा मात्र नभइ नेपालभरिनै सबैको जागरुकताले यस्तो प्रदुषण मुक्त, आरामदायी र देशको आर्थिक अवस्थामा सकारात्मक बदलाव ल्याउने सार्वजनिक यातायातको वृद्धि हुने विश्वास लिएको साझाले जनाएको छ ।


क्लिकमान्डु