प्याराग्लाइडिङ उडानमा लगाएको अनिश्चितकालिन प्रतिबन्ध ६ दिनमै हट्यो



काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।
शुक्रबार बेलुका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ५ वटा सर्त सहित प्याराग्लाडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेका हुन् ।

विदेशी मुद्रा आर्जन हुने पर्यटकिय सिजनको मुखमा प्राधिकरणले हचुवाका भरमा देश भरका प्याराग्लाडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको भन्दै व्यवसायीहरु असन्तुष्ट थिए ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशकहरुले पनि एउटा दुर्घटना भएको आधारमा देशभरका प्याराग्लाडिङ उडानमा रोक लगाउने निर्णय उपयुक्त नभएको भन्दै आलोचना गरेका थिए ।

गत असोज ३० गते पोखरामा त्रिभुवन आर्मी क्लबमा खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यू भएपछि प्राधिकरणले देशभरका प्याराग्लाडिङ उडान अनिश्चितकालका बन्द गरेको थियो ।

त्यसपछि, ३० गते नै प्राधिकरणले प्याराग्लाडिङको सुरक्षा मापदण्डका कस्तो हुनु पर्ने भन्ने विषयमा अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे नेतृत्वको ७ सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिले शुक्रबार (आज) सर्त सहित प्याराग्लाडिङ उडान खुल्ला गर्नु पर्ने सुझाव दिएपछि प्राधिकरणका महानिर्देशक अधिकारीले ६ दिनमै प्याराग्लाडिङ उडानमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन ।

अध्ययन समितिमा सदस्य समेत रहेका नेपाल हवाई खेलकुद संंस्थाका अध्यक्ष सुनिल भट्टराईले ५ वटा सर्त पुरा गरेर प्याराग्लाडिङ सञ्चालन गर्न मिल्ने गरी प्राधिकरणले निर्णय गरेको जानकारी दिए ।

‘हामीले प्राधिकरणको पत्र पाएका छौं, शनिबार कार्य समिति, पाइलट र व्यवसायी बीच छलफल गरेर भाेली वा पर्सीबाट प्याराग्लाडिङ उडान शुरु गर्ने विषयमा निर्णय हुन्छ,’ भट्टराईले भने ।

प्राधिकरणले राखेको पहिलो सर्त हो, हाललाई व्यवसायीक बाहेकका कुनै पनि एकल उडान गर्न पाइने छैन । नेपाल हवाई खेलकुद संंस्थाबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका पाइलटले मात्रै यात्रुलाई सेवा दिन सक्ने छन् ।

त्यसैगरी, व्यवसायीक उडान गर्ने पाइलटका लागि कम्पनीको नाम खुल्ने ड्रेस कोड अनिवार्य गरिएको भट्टराईले जानकारी दिए ।
आगामी १५ दिन भित्र संघबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल २ र साइकोएक्टिभ अवस्थाको समेत परिक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै, आगामी १५ दिन भित्र प्याराग्लाडिङमा प्रयोग हुने सबै उपकरणहरु उडान गर्न योग्य रहेको विषय समेत प्रमाणित गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै, प्याराग्लाडिङ उडाउने पाइलटले हरेक वर्ष उडान सुरक्षा सम्बन्धी एसआईभी (सेफ्टी कोर्स ) गर्नु पर्ने व्यवस्था गरिएको छ ।

हाल प्याराग्लाडिङको लाइसेन्स लिनु भन्दा पहिला एक पटक एसआईभी कोर्स गर्ने गरिएको छ । उक्त कोर्समा आकासमा उड्दा कुनै समस्या आए, कसरी समाधान गर्ने भन्ने विषयमा तालिम दिने गरिन्छ ।

प्राधिकरणले तोकेका सबै सर्तहरु कार्यान्वयन गराउने अधिकारी नेपाल हवाई खेलकुद संघलाई दिएको छ । हाल संघबाट प्याराग्लाडिङ उडाउन ३७५ जना पाइलटले अनुमति पत्र लिएपनि करिब २५० जनाले नियमित उडान गरिरहेको संघका अध्यक्ष भट्टराईले जानकारी दिए ।


शरद ओझा