सेयर धितो कर्जा २ महिनामा ५.८% ले घट्यो, कुनमा कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जामा प्रवाह हुने ऋण ५.८ प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिमा १ खर्ब ४ अर्ब १ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा यस्तो कर्जा २८ अर्ब १६ करोड ८० लाख रुपैयाँले घटेको छ ।

राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा १ करोड रुपैयाँभन्दा माथिको, ५० लाखदेखि १ करोड र २५ देखि ५० लाख रुपैयाँसम्म जाने कर्जाको आकार घटेको छ । २५ लाख रुपैयाँसम्म जाने कर्जा मात्रै सामान्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा ७.८ प्रतिशतले घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ४२ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६८ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका लागि जाने कर्जा २.६ प्रतिशतले घटेको छ । भदौ मसान्तसम्ममा १० अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा १३ अर्ब ३९ करोड १३ लाख रुपैयाँ रहेको थियो।

यस्तै २५ देखि ५० लाखसम्म जाने कर्जा पनि ५.५ प्रतिशतले घटेको छ । भदौमसान्तसम्म १४ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा गत आवको सोही अवधिमा यस्तो कर्ता १४ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २५ लाखसम्म जाने सेयर धितोकर्जा भने १.२ प्रतिशतले बढेको छ । असार मसान्तसम्म ८ अर्ब २७ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन गत आवको भदौ मसान्तमा ७ अर्ब ९२ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै सेयर धितोमा जाने कर्जा न्यून देखिएको छ । बैंकहरुले कर्जा दिएपनि २५ लाख भन्दा कम मात्रै दिने गरेको तथ्याङकले देखाएको छ । त्यो भन्दा बढी जाने कर्जा भने घटेको छ ।


क्लिकमान्डु