रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि, भदौमा मात्रै ९५ अर्ब आप्रवाह



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको सोही अवधिमा नेपालको रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकअनुसार भदौ महिनामा मात्रै नेपालमा ९४ अर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९ प्रतिशतले वृद्धि भएको छ । दुई महिनाको अवधिमै १ लाख ३ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, दुई महिनाको अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु