रेमिट्यान्स बढेर आयात घट्दा समेत विदेशी मुद्राको सञ्चिति बढेन, दुई महिनामा १९ करोड डलरले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी मुद्राको सञ्चिति १९ करोड डलरले घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थिति अनुसार भदौं महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति ७ करोड डलरले घटेको छ ।

साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौं मसान्तमा ९ अर्ब ३५ करोड डलर पुगेको छ ।

गत साउनमा विदेशी मुद्राको सञ्चिति १२ करोड डलरले घटेको थियो । असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति साउन मसान्तमा घटेर ९ अर्ब ४२ करोड पुगेको थियो ।

चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आप्रवाहमा ११.३ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १३ प्रतिशतले घट्दा समेत विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन ।

जसले गर्दा शोधानान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने विदेशी मुद्रा) २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ ।


क्लिकमान्डु