आगामी निर्वाचन सामान्य होइन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए ।

नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरत भइरहेको आरोप लगाए ।

प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गर्दै प्रचण्डले पश्चगमन र अग्रगमनको दुईवटा विचार र प्रवृत्ति देखा परेको बताए ।

आगामी निर्वाचनले देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने उनको भनाइ थियो ।

गठबन्धन बिरोधी विभिन्न प्रचार भएको भन्दै उनले यसपटक मात्रै गठबन्धन भएको झैँ गरि नबुझ्न आग्रह गरे ।

‘मंसिर ४ गतेको निर्वाचन एउटा समान्य निर्वाचन मात्रै हुँदैछैन । किनकी केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका बिरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो’ उनले भने ।


क्लिकमान्डु