माओवादीका मतदाताले कांग्रेससहितका दललाई मत देलान् ? यसो भन्छन् नेता



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आफ्ना नेता कार्यकर्ता र मतदातालाई कुनै समस्या नभएको दाबी गरेका छन् ।

माओवादीले कांग्रेससहितका गठबन्धनका उम्मेदवार र अन्य दलका मतदाताले माओवादीलाई मत खसाल्नेमा आशंका व्यक्त भइरहँदा नेताहरुले भने राजनीतिक उपलव्धिहरुको रक्षाका लागि मत दिन आह्वान गर्ने बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले गठबन्धनमा आवद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताए ।

सचिव आचार्यले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताएका हुन् ।

गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको उनी बताउँछन् ।

देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरु गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरुको चुनाव चिन्हमा भोट हाल्नका लागि आफूहरुले आह्वान गर्ने उनले बताए ।

अर्को पार्टीको उम्मेदवारलाई किन भोट हाल्ने र यसको राजनीतिक उद्देश्य के हो भन्ने सम्बन्धमा जनतालाई प्रष्ट पार्ने उनले बताए ।

नेता कार्यकर्ताहरुले हँसियाहथौडा बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्दिन भनेर हालसम्म नभनेको उनी बताउँछन् ।

‘यो राजनीतिक मामिला हो । हामीले हँसियाहथौडामा भोट हालेका मान्छेलाई कलम, रुख अथवा अरु चिन्हमा भोट हाल्न अपm्ठ्यारो त होला तर पनि यो त राजनीतिक लडाइँ हो’ उनले भने ।

आफ्नै पार्टीका उम्मेदवार खोज्ने कार्यकर्ता र मतदाताहरुलाई गठबन्धनको उम्मेदवार नै आफूहरुको उम्मेदवार हो भनेर बुझाउने उनी बताउँछन् ।

हँसियाहथौडा चिन्ह लिएकाहरुलाई पनि अन्य दलहरुले आफ्नै उम्मेदवार मानेर भोट हाल्ने उनको विश्वास छ ।

‘गठबन्धन भइसकेपछि हाम्रो उम्मेदवार कुनै ठाउँमा रुख चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । कलम चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । र हाम्रो आफ्नो हँसियाहथौडाको चिन्ह लिएको उम्मेदवार पनि अरु दलको पनि उम्मेदवार हो भनेर जुन गठबन्धनको स्प्रिट छ, त्यो स्प्रिट अनुसार हामीले हाम्रा कार्यकर्ताहरुमार्फत समग्र मतदाताहरुलाई स्पष्ट पार्ने कोशिस गर्छौं । यो कुनै दाउपेचको निम्ति होइन कि देश अगाडी लैजाने कि पछाडी धकेल्ने भन्ने एउटा लडाइँ हो’ उनले भने ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनका बिरुद्ध अग्रगामीहरुको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एकअर्कालाई भोट हाल्ने बताए । जहाँ जुन पार्टीको उम्मेदवार भएपनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उनको भनाइ छ ।

माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनाव चिन्हमा मतदान गर्नु बाध्यता भएको बताउँछन् । गठबन्धका उम्मेदवारहरु देशको आवश्यकताले उठाइएको भन्दै एकअर्कालाई मतदान गर्नुपर्ने उनी बताउँछन् ।

चाहना नभए पनि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यकता र बाध्यता भएको उनी बताउँछन् ।

‘पार्टीको सिद्धान्त आ–आफ्नो ठाउँमा छ । राष्ट्रिय रक्षा, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाको निम्ति गठबन्धन गरेको कारणले गर्दाखेरी गठबन्धनका साझा उम्मेदवारहरु उठाइएको छ । ती गठबन्धनका साझा उम्मेदवारहरु अहिलेको आवश्यकता अनुसार एक अर्कालाई मतदान गर्नुपर्ने छ । यो अहिलेको आवश्यकता हो । खुशी नहुँदा नहुँदै पनि, चाहना नहुँदा नहुँदै पनि वर्तमान परिस्थिति र समयलाई ध्यानमा राखेर यो अवस्थामा जान बाध्यता हो । गठबन्धनको आवश्यकता र बाध्यता हो भनेर हामीले बुझेका छौँ’ उनले भने ।


क्लिकमान्डु