भारत र बंगलादेशमा बिजुली व्यापारको बाटो खुलेसँगै ओइरियो लगानी, ३ महिनामै साढे ५७ अर्बको प्रतिबद्धता



काठमाडौं । सरकारले भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुला गरेसँगै जलविद्युत् क्षेत्रमा निजी क्षेत्र लगानीकर्ताको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा आधा खर्ब रुपैयाँभन्दा बढी रकमको लगानी प्रस्ताव आएको देखाउँछ ।

सरकारले भारतीय बजार र बंगलादेशमा बिजुली बिक्रीको बाटो खुलेसँगै साना र ठूला लगानी गरी चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा देशभर १८ आयोजनाको प्रतिबद्धता आएको छ । उक्त आयोजनका लागि निजी क्षेत्रबाट ५७ अर्ब ६२ करोड ४२ लाख ८५ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।

तीन महिनाको अवधिमा १८ वटा कम्पनीबाट करिब ३०० मेगावाट क्षमतामा विद्युत उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएको छ । विभागको तथ्याङ्कअनुसार तीन महिनामा २९३.३७ मेगावाट क्षमतामा आयोजना निर्माण हुनेछ ।

सो अवधिमा सबैभन्दा ठूलो आयोजनाको रुपमा तामाकोशी जलविद्युत कम्पनीले लगानी गर्ने छ । कम्पनीले करिब साढे १६ अर्ब लगानीको प्रतिबद्धता जनाएको छ ।

विभागअनुसार सुम्निमा हाइड्रोपावर कम्पनी प्रालिले (पिखुवा पशुपति जलविद्युत् आयोजना) भोजपुर जिल्लाको टेक्मेमैयुम गाउँपालिका तथा भोजपुर नगरपालिकामा ४.१० मेगावाट बिजुली उत्पादन गर्ने गरी कम्पनी दर्ता गरेको छ । उक्त आयोजनाका लागि निजी क्षेत्रका लगानीकर्ताले ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड (तामाकोशी पाचौँ जलविद्युत् आयोजना) ले दोलखा जिल्लाको बिगु गाउँपालिकामा ९९.८ मेगावाटको बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले सो जलविद्युत् उत्पादनका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ ।

कार्बोनलेस इनर्जी फण्ड प्रालिले मनाङ जिल्लाको नासो गाउँपालिकामा ३०.४० मेगावाट क्षमताको जलविद्युत् निर्माण गर्ने भएको छ । कम्पनीले उक्त आयोजनाका लागि ५ अर्ब ९६ करोड ७२ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत् आयोजना) ले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा १४.५ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने गर्ने भएको छ । कम्पनीले उक्त आयोजनाका लागि २ अर्ब ५३ करोड २६ लाख १९ हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

त्यसैगरी, एस.के.इनर्जी डेभलपमेन्ट कम्पनी भोजपुरको षडानन्द नगरपालिकामा ७.२५ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने भएको छ । जसमा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ ।

ओमेगा इनर्जी डेभलपर कम्पनी (माथिल्लो सुनीगाड जलविद्युत् आयोजना) बझाङ जिल्लामा ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । सो आयोजनबाट १४ मेगावाट क्षमताको बिजुली उत्पादन हुनेछ ।

त्यस्तै, ट्रष्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा ३० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सो बिजुली उत्पादनका लागि ५ अर्ब ३८ करोड लगानी प्रतिबद्धता गरेको छ ।

नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रालिले मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा २ अर्ब १६ करोड रुपैयाँ २ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले ९.४८ मेगावाट क्षमताको आयोजना निर्माण हुने भएको छ ।

यारु हाईड्रोपावर प्रालिले गोर्खा जिल्ला धार्चे गाउँपालिकामा ३०.५९ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले उक्त आयोजनाका लागि ५ अर्ब ८१ करोड ४ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

हलेसी हाइड्रोपावर प्रालिले खोटाङ जिल्लाको इसेलुखर्कमा ५.४ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने भएको छ । विभागअनुसार कम्पनीले ५.४ मेगावाट क्षमताको बिजुली उत्पादनका लागि १ अर्ब ७ करोड ३८ लाख ९० हजार रुपैयाँ लगानी प्रस्ताव गरेको छ ।

गोर्खाज हिमालयनले हाइड्रो प्रालिले पनि सोलुखुम्बुको सोलु दुधकुण्डमा ८३ करोड ३७ लाख रुपैयाँ लगानीमा ४.७ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ ।

त्यसैगरी, शिखर पावर डेभलपमेन्ट (लोवर भिमखोला क्यास्केड जलविद्युत् प्राजेक्ट) ले बाग्लुङको बडिगाडमा ६.०५ मेगावट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी गर्नेछ ।

एलायन्स इनर्जी सोलुसन्सले मनाङको नासो गाउँपालिकामा ४.८० मेगावाट क्षमताको आयोजनामा ८८ करोड २४ लाख ४० हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

यस्तै, डाइनमिक पावर कम्पनीले मकवानपुरको कैलाश र राक्सिङ गाउँपालिकामा ४.५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ८४ करोड ३४ लाख ५४ हजार लगानी प्रतिबद्धता जनाएको छ ।

मेवा डेभलपर्स लिमिटेड (सिवाखोला जलविद्युत आयोजना)ले ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा ९.३० मेगावाट क्षमताको आयोजना ल्याउने भएको छ । कम्म्पनीले उक्त क्षमताको बिजुली उत्पादनका लागि २ अर्ब ७ करोड ४५ लाख रुपैयाँ लगानी गर्नेछ ।

त्यसैगरी, सिल्क पावर प्रालिले पनि सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा २४.८८ मेगावाट क्षमताको आयोजनाका लागि ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

ललितपुरको गाउँपालिकामा बाग्मती वाटर इनर्जी प्रालिले ६.५ मेगावाट क्षमताको आयोजान निर्माण गर्ने भएको छ । कम्पनीले १ अर्ब ३५ करोड ७५ लाख ५५ हजार रुपैयाँ लगानीको प्रतिबद्धता गरेको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड (मिस्ट्री खोला-२ क्यास्केड जलविद्युत् आयोजना)ले म्याग्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले उक्त आयोजनाको लागि १ अर्ब ६१ करोड २१ लाख २३ हजार रुपैयाँ लगानी गर्नेछ ।


क्लिकमान्डु