तीन नेताको अपिल : प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताले गर्दै आफूहरुको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त अपिलमार्फत यस्तो गरेका हुन् ।

उनीहरुले पाँच दलीय गठबन्धनको उद्देश्य संविधानको रक्षा गर्नु रहेको उल्लेख गरेका छन् ।

‘२०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तात्कालीन सरकार प्रमुखको अनेकौ स्वेच्छाचारी कदमहरुलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ,’ उनीहरुले जारी गरेको अपीलमा भनिएको छ, ‘पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरुप काम गर्दै आएको छ । गठबन्धन सरकार गठन भए लगत्तै महामारीको रुपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको छ । वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको छ । जनताको आवश्यकता पूर्तिका निम्ति निरन्तर क्रियाशिल छ । यो छोटो अवधिमा सरकारले लोकतन्त्रलाई संस्थागत गर्न संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति गर्दै भयरहित वातावरणमा निश्पक्ष रुपमा सफलताका साथ स्थानीय निर्वाचन सम्पन्न गरेको छ । अहिले गठबन्धनको यो सरकार आउदो आम निर्वाचनलाई पनि भयरहित र निस्पक्ष रुपमा सम्पन्न गर्न कटिबद्ध छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिवद्ध रहेका छौं । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट वैचारिक धरातल र सहकार्यको आधार हो’, अपिलमा भनिएको छ ।

संविधान माथिको प्रतिगमनको खतरा रहे सम्म गठबन्धनको औचित्य कायमै रहने अपिलमा उल्लेख गरिएको छ ।

‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहे सम्म गठबन्धनको औचित्य कायमै रहने छ’ विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु