एसइई उत्तीर्ण गरेकाले पशु सेवा व्यवसाय सञ्चालन गर्न पाउने, दर्ता नगरे ५० हजारसम्म जरिवाना



काठमाडौं । सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धी व्यवस्था गर्न ऐन बनाएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल पशु् चिकित्सा परिषद्मा नाम दर्ता भएका र दर्ता हुन योग्य पशु चिकित्सकबाहेकका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायीलाई व्यवस्थित, गुणस्तरीय एवं मर्यादित ढङ्गले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र सेवा व्यवसायको विकास गर्न ऐन ल्याएको जनाएको छ ।

सरकारले ‘पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९’ राजपत्रमा सार्वजनिक गरेको हो । जसमा परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहने जनाएको छ ।

सरकारले मान्तयता प्राप्त विश्वविद्यालय, शिक्षण संस्था, शैक्षिक परिषद्, शैक्षिक प्रतिष्ठानबाट योग्यता पूरा गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले दर्ता किताबमा नाम दर्ता गराउन तोकिएबमोजिम दरखास्त दिई व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारले एसइई वा सो सरह उत्तीर्ण गरी १ वर्ष स्टक सुपरभाइजर तालिम प्राप्त गरेको र पशु स्वास्थ्य तथा पशुपालना विषयमा प्राविधिक एसईई वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले नाम दर्ता गरी व्यवसायी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

त्यसैगरी, एसइई वा सो सरह उत्तीर्ण गरी जेटीए कोर्ष (पशु विज्ञान) उत्तीर्ण गरेको, एसइई वा सो सरह उत्तीर्ण गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट तह–२ को पशुवित्रान विषयमा सीप परीक्षण उत्तीर्ण गरेको, पशु विज्ञान विषयमा प्रमाणपत्र तह वा पशु स्वास्थ्य तथा पुश सेवासँग सम्बन्धित विषयमा १२ कक्षा उत्तीर्ण वा प्राविधिक प्रमाणपत्र तह, डिप्लोमा (३ वर्षको) कोर्ष उत्तीर्ण गरेको वा पशुविज्ञान वा मत्स्य विज्ञान विषयमा स्नातक वा सो सरह वा सम्बन्धित विषयमा स्नातकोत्तर तह वा विद्यावारिधि उत्तीर्ण गरेको योग्यताको आधारमा नाम दर्ता गर्न पाउनेछन् ।

उक्त नाम दर्ता गर्न पाउने व्यवस्थासँगै अबका दिनमा जेटीए वा एसई उत्तीर्ण गरी १ वर्ष स्टक सुरपरभाइजर तालिम प्राप्त गरेको र पशु स्वास्थ्य तथा पशुपालना विषयमा प्राविधिक एसईई वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले नाम दर्ता गरी व्यवसायी सञ्चालन गर्न पाउने बाटो खुला गरेको छ ।

यसअघि सरकारले प्राविधिकहरूलाई नाम दर्ता गरी व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था थिएन । देशभर ६० हजार पशु सेवा प्राविधिकहरुले पशु उपचार अर्थात् चिकित्सकको कार्य गर्दै आएका छन् । तर, सरकारले दर्ता गर्न नपाउने व्यवस्थाले गर्दा निकै समस्या भोग्दै आएका थिए । अबका दिनमा भने प्राविधिकहरुले सहजै व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।

सरकारले पशु सेवा व्यवसायका लागि शैक्षिक योग्यतालाई मान्यता दिएको छ । साथै, सरकारले परिषद्को एउटा छुट्टै कोषको व्यवस्था गरेको छ ।

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको श्रेणी तोकेको छ । उक्त श्रेणीअनुसार व्यवसायीका लागि नाम दर्ता गर्न पाउने रापपत्रमा उल्लेख छ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता गर्ने प्रयोजनको लागि योग्यता पूरा भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई श्रणीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

राजपत्रअनुसार क श्रेणीकामा मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नाकोत्तर वा विद्यावारिधी उत्तीर्ण गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ख श्रेणीका व्यवसायीसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरहको उपाधि हासिल गरेको वा ग श्रेणीमा कम्तिमा १० वर्षको अनुभव हासिल गरेका र परिषद्ले तोके कमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी हुनुपर्नेछ ।

त्यसैगरी, ग श्रेणीमा सम्बन्धित विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको उपाधि हासिल गरका वा घ श्रेणीमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरी परिषद्ले तोके कमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र घ श्रेणीमा कम्तीमा प्राविधिक एलएलसी वा सो सरहको उपाधि हासिल गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले आफ्नो श्रेणीअनुसार व्यवसाय गर्न पाउनेछन् ।

‘शैक्षिक योग्यता र तालिमको आधारमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायमध्येका तोकिए बमोजिमको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी कार्य गर्न पाउनेछन् । उक्त व्यवसायका परीक्षा लिन सक्नेछ,’ राजपत्रमा उल्लेख छ ।

यसअघि सरकारले तोकेको अवधिको तालिम प्राप्त गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन गर्दै आएका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको योग्यता पूरा नभएसम्म प्रदेश कानूननले तोकेको निकायले छुट्टै दर्ता किताब खडा गरी नाम दर्ता गर्ने व्यवस्था मिलाउन सक्नेछ । जसमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले तोकिए बमोजिमको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न पाउनेछन् ।

ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले सोको प्रमाणपत्र प्राप्त गरी निरन्तर १० वर्ष पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन गरी रहेको भएमा त्यस्ता व्यवसायीलाई सीप परीक्षण गराई सफल भएमा घ श्रेणीमा दर्ता गरी व्यवसाय सञ्चालन गर्न सक्नेछ ।

राजपत्रअनुसार नाम दर्ता नगराई कसैले पनि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ । तर, प्रचलित कानूनबमोजिम नेपाल पशु चिकित्सा परिषद्मा नाम दर्ता भएका पशु चिकित्सकका हकमा यस ऐन बमोजिम नाम दर्ता गराउनु पर्ने छैन ।

यदि नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गरेमा व्यक्तिलाई कसूरको मात्रा हेरी ५० हजार रुपैयाँ वा ६ महिनासम्म कैद वा दुबै सजाय हुने जनाएको छ । नियम विपरित हुने गरी कसैले कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

सरकारले पशु स्वास्थ्य तथा पुश सेवा व्यवसायीको रुपमा कम्तीमा ‘ख श्रेणी’ मा दर्ता भएको र ५ वर्ष अनुभव प्राप्त गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीमध्येबाट नेपाल सरकारबाट मनोनित एक जना अध्यक्ष हुने जनाएको छ ।

त्यस्तै, ख श्रेणीमा दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवासायीबाट निर्वाचित एक जना उपाध्यक्ष, मन्त्रालयबाट मनोनित कम्तिमा एक जना महिलासहित दुई जना सदस्य, प्रत्येक प्रदेशबाट एक÷एक जना निर्वा हुने गरी सात जना सदस्य, दुई जना महिलासहित निर्वाचित चार जना सदस्य, पशु व्यवसायीसम्बन्धी विषयमा अध्यापन गर्ने विश्वविद्यालय वा अध्ययन संस्थानमध्येबाट र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट परिषद्ले मनोनित गरेको कम्तीमा एक जना महिलासहित २ जना सदस्य , नेपाल पशु चिकित्सा परिषद्का पदाधिकारी प्रतिनिधि एकजना सदस्य र रजिष्ट्रार सदस्य सचिवको नेतृत्वमा परिषद् स्वशासित र संगठित संस्था हुने व्यवस्था गरेको छ ।


क्लिकमान्डु