उद्योगमा ठूलो संकटः उत्पादन र बिक्री ७० प्रतिशतसम्म घट्यो, श्रमिक कटौती शुरु



भैरहवास्थित श्री स्टिल

काठमाडौं । नेपालको अर्थतन्त्रमा १३.७ प्रतिशत योगदान भएको उत्पादनमूलक क्षेत्र समस्यामा परेको छ ।

क्लिकमाण्डूले कुरा गरेका एक दर्जनभन्दा धेरै उद्योगीहरुले पछिल्लो समय ‘म पनि उद्यम गरिरहेको छुँ’ भन्ने देखाउन मात्रै उद्योग सञ्चालन गरिरहेको बताएका छन् ।

सिमेन्ट, स्टिल, घ्यूतेल, चाउचाउ र विस्कुट लगायतका उद्योगमा लगानी भएको ‘शारडा ग्रुप’का अध्यक्ष शिवरत्न शारडा ४५ वर्षदेखि काम गर्दै उद्योग र व्यवसायमा संलग्न छन् । उनी अहिलेको जस्तो मन्दी आफूले पहिले नदेखेको बताउँछन् ।

‘१४ वर्ष अगाडी सन् २००८ को आर्थिक संकटमा नेपालमा पनि मन्दी हुन्छ भन्ने डर थियो,’ शारडाले भने, ‘तर, अहिले जस्तो बिक्री घटेको थिएन ।’

चालु आर्थिक वर्षको साउन र भदौमा शारडा ग्रुपअन्तर्गत सञ्चालनमा रहेका सबै उद्योगहरूको उत्पादन घटेको छ ।

‘सामान उत्पादन गरेर के गर्ने ?,’ शारडा भन्छन्, ‘बजारमा बिक्री नै छैन ।’

७ वर्षदेखि ‘हुलास वायर इन्डस्ट्रिज’की प्रबन्ध निर्देशक रहेकी युक्ती गोल्छा पनि अहिले जस्तो मन्दी आफूले नदेखेको बताउँछिन् ।

‘हामीले उत्पादन गर्ने तारजालीको प्रयोग सरकारी आयोजनामा बढी हुन्छ,’ गोल्छाले भनिन्, ‘तर, पछिल्ला दिनमा ३०० टन सामान उत्पादन हुँदा ५० टन पनि बिक्री गर्न सकिएको छैन । यसरी कति दिन उद्योग चलाउन सकिन्छ ?’

सिमेन्ट र स्टिल उद्योगमा ठूलो समस्या

चिनियाँ लगानी रहेको ‘होङ्शी सिमेन्ट’ले नेपालमा राम्रो व्यवसाय गर्दै आएको थियो । तर, गत बैशाखदेखि नै बजारमा सिमेन्टको मागमा गिरावट आएको थियो । असार मसान्तमा कम्पनीको ब्यालेन्स सिट घाटामा गएको थियो । असोजमा समेत कम्पनीको ब्यालेन्स सिट घाटामा गएको देखिएको छ ।

स्रोतका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत कम्पनी घाटामा छन् । दैनिक ६ हजार ५०० टन सिमेन्ट उत्पादन गर्ने क्षमता भएको होङ्शी सिमेन्ट घाटामा सञ्चालन हुँदा अन्य कम्पनीबाट क्लिङ्कर खरिद गरेर सिमेन्ट बनाउने कम्पनी झनै समस्यामा छन् ।

भैरहवामा सञ्चालित ‘बृज सिमेन्ट’का महाप्रबन्धक रबी रञ्जन कुमार उद्योगको उत्पादन ८० प्रतिशतले घटेको बताउँछन् ।

‘एक बोरा सिमेन्टमा २० देखि २५ रुपैयाँ घाटा खादाँ समेत बिक्री बढ्न सकेको छैन,’ कुमारले भने,‘सिमेन्टको माग धेरै हुने सिजनमै व्यापार सुस्त भएपछि कम्पनीले २० प्रतिशत कर्मचारी कटौती गरेको छ । ’

खर्च नघटाई टिक्नै नसक्ने भएपछि कम्पनीले कर्मचारी कटौती गरेको कुमार बताउँछन् ।

‘उद्योग बन्द गर्दा धेरै नोक्सान हुन्छ । बैंकले पनि बन्द उद्योगलाई साँवा ब्याज तिर्न ताकेता गर्छ,’ कुमारले भने, ‘त्यसैले हामीले घाटा खाएरै भएपनि उद्योग २० प्रतिशत क्षमतामा चलाउने निर्णय गरेका हौं ।’

बिहीबार क्लिकमाण्डू संवाददाता क्लिङ्कर समेत उत्पादन गर्ने एक सिमेन्ट उद्योगीको कार्यकक्षमा पुग्दा ती उद्योगी असोज मसान्तमा बैंकको किस्ता कसरी तिर्ने भन्ने छलफल गरिरहेका थिए ।

‘हाम्रो उद्योगमा पूँजी लगानी भन्दा कर्जा कम छ,’ ती उद्योगीले भने, ‘तर, पनि हामीलाई वित्तीय व्यवस्थापन गर्न समस्या भईरहेको छ । धेरै ऋण लिएर लगानी गरेका उद्योगहरु ब्याज तिर्न सक्ने अवस्थामा छैनन् ।’

गत वर्षको साउनभन्दा यो साउन र भदौमा ५० प्रतिशतले बिक्री घट्दा उद्योगलाई वित्तीय व्यवस्थापन गर्न कठिन भएको ती उद्योगीको भनाइ छ ।

सिमेन्टमात्रै होइन, स्टिल उद्योगको व्यापार पनि घट्दो क्रममा छ ।

‘बजारमा माग भएपछि २४ घण्टा उद्योग चल्ने हो’, अम्बे स्टिल भैरहवाका प्लान्ट हेड शैलेन्द्र श्रेष्ठले भने, ‘अहिले १२ घण्टा उत्पादन गरेको सामान पनि बिक्री हुन सकेको छैन ।’

श्रेष्ठ गत वर्षभन्दा ६० प्रतिशतले उत्पादन र बिक्री घटेको बताउँछन् । ‘हामीसँग स्टक छैन । बजारमा डिमाण्ड पनि छैन । त्यसैले उत्पादन बढेको छैन,’ श्रेष्ठले भने,‘बजारमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । यस्तो अवस्थामा उधारोमा सामान बिक्री गरेर नोक्सान मात्रै हुन्छ ।’

सिमेन्ट र स्टिल क्षेत्रमा मात्रै बैंक तथा वित्तीय संस्थाको १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको एक उद्योगी बताउँछन् ।

‘बैंकले उद्योगलाई अहिले सहुलियत दिएन भने उद्योगमा गरेको सबै लगानी नै डुब्ने जोखिम छ,’ एक उद्योगीले भने, ‘बैंकले अहिले उद्योग सञ्चालन मात्रै हुने व्यवस्था गर्नु पर्छ ।’

उधारो उठाउन कठिन

हुलास वायर इन्डस्ट्रिजकी प्रबन्ध निर्देशक युक्ती गोल्छा व्यवसाय गर्न कठिन हुँदै भएको बताउँछिन् । ‘बिक्री घटेको छ, उधारो उठेको छैन’, गोल्छाले भनिन्, ‘केही महिना यस्तै अवस्था रह्यो भने उद्योग बन्द गर्दा बढी फाइदा हुन्छ । श्रमिक कटौति गर्नु पर्छ ।’

आयात निर्यातको काम गर्दै आएका एक व्यवसायी बजारमा उधारो लिने र नतिर्ने क्रम बढेको बताउँछन् ।

‘पहिला बैंक, सहकारी र सरसापट गरेर पैसा तिर्ने गरिन्थ्यो,’ ती व्यवसायीले भने, ‘अहिले पैसा तिर्नु पर्यो भने फोन स्विच अफ गरेर भाग्ने क्रम बढेको छ ।’

विगतमा उधारोमा भएपनि मालसामान बिक्री गर्ने उद्योगीहरु पछिल्लो समय भने उत्पादन घटाउनतर्फ लागेका छन् ।

बजारमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य पूँजीको अभाव छ । जसले गर्दा निजी क्षेत्रबाट निर्माण भइरहेका जलविद्युत परियोजनाको काम रोकिएको छ । शेयर बजार घट्दा मार्जिन कलमा पैसा हाल्नु परेको छ । बैंक वित्तीय संस्थाले घर बनाउन कर्जा दिन छोडेपछि नयाँ घर बन्न पनि रोकिएको छ । जसले गर्दा बजारमा सिमेन्ट र डण्डीको माग घटेको उद्योगी शारडाको विश्लेषण छ।

‘व्यवसायमा मन्दी आउँदा राजस्व पनि घटेको छ,’ शारडाले भने, ‘लामो समय यस्तै अवस्था रह्यो भने देश चलाउन निकै कठिन हुनेछ ।’

यो वर्ष आर्थिक गतिविधि सुस्त हुँदा सरकारले गत वर्ष भन्दा ५८ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । आर्थिक गतिविधिमा गिरावट आउँदा असोज मसान्तमा उद्योगी र व्यवसायीलाई साँवा र ब्याज तिर्न कठिन हुने र खराब कर्जा बढ्ने उद्योगीहरु बताउँछन् ।

खाद्यपदार्थको समेत घट्यो बजार

पछिल्लो समय निर्माण सामाग्री मात्र नभई बजारमा खाद्यपदार्थको समेत बिक्री घटेको उद्योगीहरु बताउँछन् ।

शारडा गुप्रको लगानी रहेको गुडलाइफ विस्कुट र रमपम चाउचाउको बिक्री घटेको उद्योगी शारडाले जानकारी दिए । महँगीले अत्यावश्यक बस्तु तथा सेवामा हुने खर्च बढेपछि तयारी खाने कुरामा गर्ने खर्च घट्दा बिस्कुट र चाउचाउको बिक्री घटेको शारडा बताउँछन् ।

यस्तै, नेबिको बिस्कुटका ब्राण्ड म्यानेजर अरुण पौडेल पनि पछिल्लो समय बिक्री घटिरहेको बताउँछन् ।

‘एकातर्फ बिस्कुटको उपभोग घटेकाले उत्पादन घटाउनु परेको छ,’ पौडेलले भने,‘अर्कोतर्फ उत्पादन लागत समेत बढेको छ । यस्तो अवस्थाले उद्योग सञ्चालन गर्न निकै कठिन छ । ’

बजारमा महँगी बढेपछि उपभोक्ताको क्रय शक्ति घट्दै जाँदा बिस्कुट, चाउचाउजस्ता सामान किन्ने क्रम घटेको पौडेल बताउँछन् ।

‘अप्ठ्यारो अवस्थामा चामल किन्न छाडेर चाउचाउ र विस्कुट कसैले किन्दैन्’, पौडेल भन्छन्,‘आम्दानी घटेको छ, खर्च कटौती गरेर घर चलाउनु पर्ने बाध्यता छ ।’

विभिन्न क्षेत्रको उत्पादन र बिक्रीमा आएको गिरावटको प्रत्यक्ष असर सरकारी राजस्वमा पर्ने निश्चित छ । चालु आर्थिक वर्षको दुई महिना २६ दिनमा गत वर्षभन्दा कम राजस्व संकलन हुँदा समेत सरकारले वित्तीय व्यवस्थापन कसरी गर्ने र उद्योगी व्यवसायीलाई कसरी सहयोग गर्ने भन्ने विषयमा कुनै योजना बनाउन सकेको छैन ।


शरद ओझा