गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न कानूनी व्यवस्था गर्छौंः प्रम देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउन लागेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा देउवाले यस्तो बताएका छन् । यस्तै प्रम देउवाले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ)मा १० प्रतिशत सेयर आरक्षणको रुपमा दिने व्यवस्था गरेको र यसबाट गैरआवासीय नेपालीलाई विभिन्न माध्यमबाट लगानीगर्न उत्प्रेरणा गरेको पनि बताए ।

कार्यक्रममा प्रम देउवाले गैर आवासीय नेपालीले मुलक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दैै उनीहरुले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने वाताबरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विदेशमा रहेका नेपालीलाई विदेशी लगानीकर्ता नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलिदिन पनि आग्रह गरे । गैर आवासीय नेपालीले नेपालमा उत्पादित बस्तुलाई उपभोग गर्न सकेको खण्डमा स्वेदशी उत्पादनको निकासीमा सहयोग पुग्ने र साना तथा मझौला उद्योगको संरक्षण हुने देउवाको भनाइ छ ।

आफुले विदेशमा आर्जन गरेको रकमले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न समेत पटक पटक आग्रह गरे । ‘यसले नेपालमा पुँजी र प्रविधि भित्रने छ’ उनले भने ।

प्रम देउवाले चालु आवको बजेटमा सरकारले विदेशी लगानीको न्यूनतम सिमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको स्मरण गराए ।

यस्तै १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृत सञ्चालन स्वचालिन प्रणालीबाट हुने व्यवस्था गरेको पनि उल्लेख गरे ।
सरकारले विदेशी लगानीको संरक्षण गर्न सरकार तत्पर रहेको पनि उल्लेख गरे । संघले भूकम्पको समयदेखि कोरोना महामारीसम्म गरेको योगदानको चर्चा गर्दै उनले आगामी दिनमा पनि यस्तै सहयोग कायमै राख्न आग्रह गरे ।


क्लिकमान्डु