प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्यूनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टीकरण सोधेको छ ।

आइतबार जिल्ला निर्वाचन कार्यालय गोरखामा मनोनयन दर्ता गर्न जाँदा पञ्चेबाचा र २५ जना भन्दा बढी व्यक्तिको भिड जम्मा गरी झाँकी निकालेको भन्दै आयोगमा उजुरी परेपछि प्रचण्डलाई स्पष्टीकरण सोधिएको हो ।

गत असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झण्डा प्रयोग गर्न पाइने, राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने, मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण (बायोडाटा) फाराम बुझाउनुपर्ने, २५ जनाभन्दा बढी भेला भएर मनोनयनपत्र पेस गर्न र प्रचारका क्रममा मतदाताको घरदैलोमा जान नपाइनेलगायतका व्यवस्था गरिएको छ ।

आयोगले निर्धारण गरेको मापदण्ड विपरित हुने गरी झाँकी निकालेको र बाजा किन प्रयोग गरिएको भन्ने विषयमा पत्र प्राप्त भएको ७ दिनभित्र जवाफ पेस गर्न प्रचण्डलाई निर्देशन दिइएको छ ।


क्लिकमान्डु