दुई महिनामा ८ अर्बको रासायनिक मल आयात, कुन देशबाट कति ?



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८ अर्बको रासायनिक मल आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै नेपालले ८ अर्ब ५ करोड ८८ लाख ८८ हजार रुपैयाँको ७ करोड २२ लाख ७ हजार केजी रासायनिक मल आयात गरेको छ ।

नेपालले गत वर्षको सोही अवधिमा ५० करोड ८७ लाख ७७ हजार रुपैयाँको रासायनिक मल आयात गरेको थियो । त्यसैगरी, गत आर्थिक वर्षमा २१ अर्ब ३७ करोड २६ लाख रुपैयाँको रासायनिक मल आयात गरेको थियो ।

नेपालले दुई महिनाको अवधिमा सबैभन्दा बढी डीएपी मल आयात गरेको छ । नेपालले सो अवधिमा ४ अर्ब ४६ करोड ६६ लाख ४६ हजार रुपैयाँको २ करोड ८३ लाख ६० हजार केजी डीएपी रासायनिक मल आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

नेपालले आयात गरेको रासायनिक मलमध्ये सबैभन्दा बढी जोर्डनबाट आयात गरेको छ । नेपालले डीएपी मल जोर्डनबाट मात्रै आयात गरेको छ ।

जोर्डनपछि ओमनबाट सबैभन्दा बढी रासायनिक मल आयात गरेको छ । ओमनबाट दुई महिनाको अवधिमा नेपालले ३ अर्ब १२ करोड ५ लाख १८ हजार रुपैयाँको ३ करोड ३ लाख ३५ हजार केजी युरिया मल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी, भारतबाट नेपालले ४६ करोड ४५ लाख ८२ हजार रुपैयाँको १ करोड ३७ लाख ४९ हजार केजी विभिन्न प्रकारका रासायनिक मल आयात गरेको छ ।

भारतबाट नेपालले १६ करोड ३ लाख रुपैयाँको ४६ लाख ४४ हजार केजी जीवजन्तु वा तरकारीमा प्रयोग हुने रासायनिक आयात गरेको छ । त्यसैगरी, नेपालले चीनबाट१ लाख ७४ हजार रुपैयाँको २४३ केजी, थाइल्यान्डबाट १७ लाख २१ हजार रुपैयाँको २४ हजार ५ सय केजी र टर्कीबाट ५२ लाख ४८ हजार रुपैयाँको ६३ हजार केजी आयात गरेको छ ।


क्लिकमान्डु