बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता



दोधारा चाँदनी । धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले किसान चिन्तित बनेका छन् ।

किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताइन् । ‘चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ’ उनले भनिन्, ‘गतवर्ष जस्तै यसवर्ष पनि धान उत्पादन घट्ने चिन्ता लागेको छ ।’

भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि गत वर्षजस्तै यसवर्ष पनि धानमा क्षति पुगेको बताए । ‘सुरुमा धानमा रोग देखिएर क्षति भयो र अहिले भित्र्याउने बेला वर्षाले क्षति पुगेको छ’ उनले भने,‘धानका बोट ढलेर खेतमा कुहिन लागेका छन् ।’

कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यसवर्ष पनि तीन दिनदेखिको लगातारको वर्षाले धानको उत्पादनमा कमी आउनेसक्ने जानकारी दिए । ‘गतवर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पु¥याएको थियो ।’ उनले भने, ‘यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ धान उत्पादन घट्ने वा बढ्ने केही दिनपछि मात्रै थाहा हुन्छ ।’ जिल्लामा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको उक्त कार्यालयले जनाएको छ ।


क्लिकमान्डु