काठमाडौं १ मा गणेशमान पुत्रदेखि पूर्वप्रहरी र पूर्वपत्रकारसम्मको उम्मेद्वारी दर्ता



काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहले संविधानको मर्म अनुरुप संघीय कानूनहरु बनाउनु आफ्नो प्राथमिकता भएको बताएका छन् ।

आईतबार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानूनहरु बनाउन नसकिएको बतएका हुन् ।

उनले आगामी मंसिर ४ गतेको निर्वाचनबाट आउने संसदले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाई संघीय कानूनहरु बनाउने बताए । उनले आफूले स्वास्थ्य तथा पर्यावरणको क्षेत्रलाई पनि ध्यान दिने बताए ।

सिंहले भने– ‘नेपाली जनताले पिरोलिरहेका तमाम समस्याहरु सम्बोधन गर्न सक्नेगरी हामी अगाडी बढ्छौँ । संविधानलाई केन्द्रमा राखेर संविधानको मर्म र भावना अनुसार संघीयताको अधिकार अनुरुप प्रादेशिक सरकार स्थानीयमा जाने अधिकारहरु कम्युनिष्ट सरकारले दिन नसक्दा संघीयताप्रति वितृष्णा छ, कमीकमजोरीलाई हटाएर संविधानको मर्म र भावना अनुसार आवश्यक संघीय कानूनहरु बनाइनेछ ।’

नेकपा (एमाले) का तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण पौडेलले आफ्नो क्षेत्र देशकै राजनीतिक इपीसेन्टर भएपनि सो अनुसारको अनुभुति गर्न नसकिएकाले आफ्नो उम्मेदवारी परेको बताए । उनले आफू पार्टीको उम्मेदवार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको मुद्दामा पार्टी स्पष्ट भएकाले आफूहरुले जनताको मत पाउने बताए । उनले राष्ट्रियता, स्वाधिनता र समृद्धिको कुरा सदनमा सशक्त रुपले उठाउने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता रविन्द्र मिश्रले राजनीतिमा देखिएको विकृतिको जञ्जाल तोड्न आफूले उम्मेदवारी दिएको बताए । उनले अर्थ राजनीतिक एजेण्डालाई ओझेलमा पनि पार्न नदिने बताए ।

उनले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गराउनुपर्ने बताए । उनले देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौमसत्तासम्पन्न बनाउन र विदेशी हस्तक्षेप रोक्न आफ्नो उम्मेदवारी भएको बताए । उनले भने– ‘देशको जुन विकृत राजनीति छ, विकृतिको जञ्जाल छ । त्यो नतोडी भएन । त्यो तोडिएन भनेदेखि यो देश यसैगरी अरु दशकौँ सघ्रिरहने सम्भावना देखेको छु । त्यसकारणले त्यो विकृतिको जञ्जाल तोड्नुपर्छ र यो देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौमसत्तासम्पन्न बनाउनुपर्छ । विदेशी हस्तक्षेप बढीरहेको छ । त्यसलाई रोक्नसक्ने क्षमता भएको नेतृत्व हामीसँग छैन ।’

व्यवस्थित शहरीकरण, सम्पदा संरक्षण, व्यवस्थित बाटोघाटो, अतिक्रमित जग्गा र खोलाहरुको खाली गर्ने कुरा र प्रदूषण घटाउने कुरापनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाई छ ।

त्यस्तै नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानून बनाउने मानिस नगइ कानून भत्काउने मानिसहरु गइरहेको टिप्पणी गरे । उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानून बनाउने मानिस सदनमा पठाउनुपर्ने बताए ।

उनले भने– ‘३३ वर्षसम्म यहाँ ल मेकर कोहीपनि हुनुभएन, सबै ल ब्रेकर भएको हिसावले अब ल मेकर सदनको मर्यादा बढाउनुपर्ने हुन्छ । यहाँ ल मेकरको आवश्यकता छ । ब्रेकरको आवश्यकता होइन । सदनको प्रतिष्ठा बढाउनको लागि, यसको सम्मान बढाउनको लागि, र यो सदनमा संगठित अपराधीहरुको संख्या घटाउनको लागि मेरो उम्मेदवारी हो ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर उम्मेदवारी दर्ता गराएका पुकार बमले परिवर्तनको लागि आफ्नो उम्मेदवारी परेको बताए । उनले युवाहरु सदनमा आउनुपर्ने भएकाले आफ्नो उम्मेदवार बनेको बताए ।


क्लिकमान्डु