रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गर्दै माधव नेपालले भने- जन्मघरले तान्यो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आईतबार अध्यक्ष नेपालले रौतहट क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । यो क्षेत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । वि.सं. २०७४ सालको निर्वाचनमा काठमाडौं-२ बाट विजयी बन्नुभएका नेपाल अहिले सुरक्षित स्थानको खोजिमा रौतहट पुगेका थिए ।

नेकपा एमालेबाट बिद्रोह गरेर हिँडेपछि पहिलोपटक चुनावी मैदानमा होमिन लागेका नेपाललाई आफ्नो अस्तित्व जोगाउन चुनौति छ । गत वैशाखमा भएको स्थानीय तह सदस्यको निर्वाचनमा रौतहटका चार पालिकामा नेकपा (एकीकृत समाजवादी) ले जित निकालेको थियो ।

मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार बनाएपछि राजनीतिमा नयाँ मानक कायम भएको बताए । उनले रौतहट क्षेत्र नम्बर १ बाट आफू गठबन्धनको उम्मेदवार बनेर आएको आफ्नो जन्मस्थानले तानेको भन्दै जित पक्का रहेको बताए । अध्यक्ष नेपालले यस पटक एउटा मात्रै निर्वाचन क्षेत्र भएका कारण आफू काठमाडौं वा रौतहट कहाँबाट उठ्ने भन्ने दोधारमा परेको बताए ।

उनले भने ‘नेपालको राजनीतिमा हामीले नयाँ मानक कायम गरेका छौँ । सबैको शिर ठाडो पार्ने काम गरेका छौँ । अहिले पनि चुनावको सिलसिलामा जसरी हामी स्थानीय निर्वाचनको सिलसिलामा हामी मिलेर गयौँ, यस पटक पनि केही ठाउँमा नमिलेको अवस्था छ । राजनीतिक दलको साझा उम्मेदवारको रुपमा म रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर आएको छु । यस पटक मात्र एउटा निर्वाचन क्षेत्रमा मात्रै उठ्न पाउने भएपछि अफ्ठ्यारोमा परेँ । एकातर्फ काठमाडौंले तानिरहेको छ, अर्कोतर्फ रौतहटले । म कता जाउँ, जन्मघरले मलाई तान्यो ।’

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।


क्लिकमान्डु