रामेछापको चिस्यान केन्द्र अलपत्र



रामेछाप । मन्थलीमा निर्माणाधीन जिल्लाकैै एकमात्र चिस्यान केन्द्र अलपत्र बनेपछि यहाँका किसानहरु चिन्तित बनेका छन् ।

तरकारी तथा फलफूल उत्पादक किसानहरुलाई लक्षित गरेर रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन तरकारी तथा फलफूल चिस्यान केन्द्र समयमै निर्माण सम्पन्न नहुँदा अलपत्र परेको हो ।

मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अवधि सकिएको लामो सयम बितिसक्दा पनि अलपत्र भएपछि यहाँका कृषकहरु चिन्तित बनेका हुन् । बागमती प्रदेश सरकारको पाँच करोड र मन्थलीको दुई करोड १० लाख गरी सात करोड १० लाखको बजेट साझेदारीमा निर्माण भइरहेको केन्द्र समयमै निर्माण सम्पन्न हुने आशामा रहेका किसान निराश बनेका छन् ।

केन्द्र बन्न लागेपछि उत्साहित भएका किसानले विगतका तुलनामा फलफूल तथा तरकारीहरुको उत्पादन दोब्बर बनाएका थिए । स्थानीय कृषक मीनबहादुर खड्काले चिस्यान केन्द्र समयमै निर्माण सम्पन्न नभएकाले उत्पादित तरकारी तथा फलफूलहरु कुहिएर फाल्नु परेको गुनासो गरे ।

स्थानीय उत्पादन अर्गानिक हुने र बाहिरबाट ल्याएको भन्दा महङ्गो हुने हुनाले बजारमा सजिलै बेच्ने अवस्था नभएकाले भण्डारण गर्नैपर्ने बाध्याता भएको कृषकहरूको भनाइ छ । रामेछाप सदरमुकाम मन्थलीमा अत्यधिक गर्मी हुने हुनाले तरकारी तथा फलफूल चाँडै कुहिने र बिग्रने गर्दछ । अहिले उत्पादन गरेका वस्तु भण्डारण गरेर राख्न पाए पछि महङ्गोमा बेच्न सकिने स्थानीय कृषक कुमार घिमिरले जानकारी दिए ।

समयमै निर्माण कार्य सम्पन्न गराएर किसानहरुले उत्पादन गरेका तरकारी तथा फलफूल चाँडै नै भण्डारण गराउन लागिपरेको भए पनि चिस्यान केन्द्र निर्माणको जिम्मा पाएको इजी इन्फा प्रालिले स्टमेट र सम्झौता विपरीत बारगेनिङ गरेर निर्माण ढिला गरेको मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले बताए ।

निर्माणाधीन चिस्यान केन्द्र निर्माण व्यवसायीले २०७८ असार मसान्तसम्म निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि समय सकिएको १६ महिना बित्नै लाग्दासमेत निर्माण सकिएको छैन । चिस्यान केन्द्र निर्माण हुन लागेपछि उत्साहित भएका आफू जस्ता किसानलाई निर्माण व्यवसायीको लापरबाहीले निराश बनाएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीय कृषक सबिता श्रेष्ठ बताउँछिन् ।

यो केन्द्र निर्माणका सुरुआतीमा पनि कमसल सामान प्रयोग गरेको जनाउँदै स्थानीयले विरोध गरेपछि भत्कन लागेको र चर्किसकेको जगलाई नगरपालिकाले पुनः भत्काएर निर्माण गर्न लगाएको थियो ।


क्लिकमान्डु