पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा



काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छिन् । उनले दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने घोषणा गरेकी हुन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो नाम सिफारिस भएतापनि पार्टीले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएको भन्दै गंगा चौधरीले स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिने घोषणा गरेकी हुन् । उनले अर्को निर्वाचन क्षेत्रकी शान्ता चौधरीलाई पार्टीले आफ्नो क्षेत्रबाट उठाएको भन्दै असन्तुष्टीका साथ स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएकी छिन् ।

चौधरीले असोज २३ मा आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारका रुपमा आफ्नो उम्मेदवारी दर्ता गराउने बताइन् । त्यसपछि पार्टीबाट पनि आफूले राजीनामा दिने चौधरी बताउँछिन् । पार्टीले आफूलाई टिकट नदिने निधो भएसँगै चौधरीले यस्तो निर्णय लिएकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु । जनता भगवान हुन् । जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैंछु । हजुरहरुको साथ चाहिएको छ ।’


क्लिकमान्डु