गुगलको ‘पिक्सल सेभेन’ र ‘पिक्सल सेभेन प्रो’ सार्वजनिक



काठमाडौं । ‘मेड बाइ गुगल’ कार्यक्रममार्फत गुगलले आफ्नो नयाँ फोन सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको उक्त कार्यक्रममार्फत गुगलले ‘पिक्सल सेभेन’ र ‘पिक्सन सेभेन प्रो’ सार्वजनिक गरेको हो । दुवै फोन फाइभ जी नेटवर्कसहित रहेका छन् ।

सोही कार्यक्रममार्फत गुगलले आफ्नो स्मार्टवाच, ट्याबलेट र इयरबड्स पनि सार्वजनिक गरेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार ट्याबलेट २०२३ मा मात्रै बजारमा उपलब्ध हुनेछ । फोन भने अक्टोबर १३ बाट सार्वजनिक रुपमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

६.३ इञ्चको एचडी प्लस डिस्प्ले रहेको गुगल पिक्सल सेभेनको सुरुवाती मूल्य ६ सय अमेरिकी डलर रहेको छ गुगल पिक्सल सेभेनमा ४ हजार २७० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै, ८ जिबी र्‍याम रहेको यो फोनमा १२८ जिबी र २५६ जिबी इन्टरनल स्टोरेजका दुई भेरियन्ट उपलब्ध हुनेछन् । फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरासहित १२ मेगापिक्सलको वाइड लेन्स रियर क्यामेरामा छ भने फ्रन्ट क्यामेरामा १०.८ मेगापिक्सलको क्यामेरा छ ।

त्यस्तै, सुरुवाती मूल्य ८५० अमेरिकी डलर रहेको गुगल पिक्सल सेभेन प्रोमा ६.७ इञ्चको डिस्प्ले रहेको छ । १२ जिबी र्‍याम रहेको यो फोनमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको स्टोरेजसहितका भेरियन्ट उपलब्ध छन् । त्यस्तै, ५० मेगापिक्सलको मुख्य क्यामेरासहित अन्य दुई १२ मेगापिक्सल र ४८ मेगापिक्सलको क्यामेरा यो फोनमा छ । पिक्सल सेभेन प्रोमा फ्रन्ट क्यामेरा भने १०.८ मेगापिक्सलकै रहेको छ ।

गुगलका दुवै फोनमा एन्ड्रोइड १३ र टेन्सर जिटु प्रोसेसरको प्रयोग भएको छ । यो प्रोसेसर पनि गुगलले लञ्च गरेको हो । अब बजारमा उपलब्ध गुगलका सबै फोनहरु यसैमा अपडेट हुनेछन् ।


क्लिकमान्डु