दशैंमा पनि आएन भत्ता



बलेवा । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैंमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।

‘मेरो त दशैं खर्च नै त्यही भत्ता हो तर आएन’, जैमिनी नगरपालिका वडा नं १ का ९० वर्षीय मणिरत्न पाध्याले भने, ‘बर्सेनि यस्तै गर्छन्, दशैंमा सधैँ हात खाली हुन्छ ।’

पाध्या परिवारको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनीहरु दम्पत्ति नै वृद्ध छन् । एक मात्रै छोरा बाबुराम अपाङ्गता भएको व्यक्ति हुन् । ज्याला मजदुरी गरेर खाने अवस्था परिवारका कसैको पनि छैन ।

जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भए पनि दसैँ बिदाअघि लक्षित समूहका हातमा पुर्‍याउन कठिन रहेको बताएको छ । यहाँका अन्य स्थानीय तहले पनि दसैँ बिदाभन्दा एक दिन पहिला मात्रै कर्मचारीको तलब भत्ता बैंक खातामा जम्मा गरेका थिए ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दसैँ बिदामै भए पनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् ।

दशैंका लागि खुद्रा पैसा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो । तर, समयमा भत्ता वितरण नहुँदा समस्या भएकाे छ ।

बागलुङको काठेखोला गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । समयमा भत्ता नपाएकाले ज्येष्ठ नागरीकको दसैँ खल्लो भएको छ । भत्ता आउँछ भनेर आशा गरेका ज्येष्ठ नागरिक अहिले ऋण खोजेर दसैँ मनाउन लागेको बताउँछन् ।

रासस


क्लिकमान्डु