टिकट नपाएको सर्वसाधारणको गुनासो, व्यवसायी भन्छन्- सकेसम्म व्यवस्था मिलाएका छौँ



काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भीड छ ।

काठमाडौंको नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो । टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे ।

बीच बाटोबाट सर्वसाधारणहरु लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरुका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरुको गुनासो छ । त्यस्तै यातायात व्यवसायीहरुले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खाली नरहेको उनीहरुको भनाइ छ ।

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् ।

त्यस्तै यातायात व्यवसायीहरुले भने अन द स्पोट आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताए ।

पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरुले यस्तो समस्या निकालिरहेको बताए । उनले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताए ।

नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरु भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् ।
नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।


क्लिकमान्डु