कांग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेभित्र सही ढंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे ।

पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै उनले निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताए ।

पार्टीका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठिरहेको भन्दै नयाँ खालको संघर्षको आवश्यक्ता रहेको बताए ।

‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ । पार्टीलाई ठिक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो । केको लागि पार्टी भन्दा जनमत, केको लागि गठबन्धन भन्दा चुनाव जित्नको लागि यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन् । सबै सिस्टम नै के हुनलाग्यो भने चुनावमय भयो’ उनले भने ।

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे ।

‘डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ यो विषय लाग्नुपर्ने हो, काम गर्नुपर्ने हो, पटक्कै काम गरेको छैन । यसमा हाम्रो ठूलो असन्तुष्टि छ । काम गरेको तरिका चित्त बुझेको छैन । हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड भइरहेको बेलामा जसरी काम गर्नुपर्ने हो, त्यसरी काम भएन भनेर भन्यौँ । आज आफ्नै सरकारको बारेमा भन्नुपर्दा, सरकार कसैको हुँदैन, सरकार देश र जनताको हुन्छ । मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, त्यो पार्टी भित्रको कुरा हो, तर आज प्रधानमन्त्री त सिंगो देशको हो’ उनले भने ।


क्लिकमान्डु