सर्वसाधारणको दैनिकी सकसपूर्ण, देशमा बलियो मियो आवश्यक : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणको दैनिक जीवन सकसपूर्ण भएको टिप्पणी गरेका छन् ।

दशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशमा भ्रष्टाचार बढेको भन्दै यसले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको बताएका छन् । उनले विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ ।

उनले युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको बताएका छन् । ‘आफ्नो देशमा मौका नभएर हो कि वा नखोजेर हो रोजगार र कमाउन भनेर दिनहुँ हजारौंको संख्यामा नेपाली युवा युवती विदेशीरहेका छन्’ शाहले भनेका छन् । उनले नागरिकता विधेयकतर्फ लक्षित गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालीहरु देश छाडर बाहिर गएर देश उजाड भइरहेको बेला बाहिरियालाई भित्र्याउने प्रपञ्च भइरहेको बताएका छन् ।

‘होनाहार नागरिकहरु बाहिर गएर हामीलाई उजाड पारिरहेका छन् भने अर्को तिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ शाहले भनेका छन् ।

उनले नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको बताएका छन् । उनले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारको विषयमा असन्तुष्टि पोखेका हुन् ।

दलहरू आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले कति निष्ठावान् र जनउत्तरदायी रहने भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको भन्दै दलहरुमाथि उनले प्रश्न उठाएका छन् ।

‘पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?,’ शाहले प्रश्न गरेका छन्, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ ।’

उनले संरचना बदलेर र नाम फेरेर मात्र देश नौलो नहुने उल्लेख गर्दै देशमा बलियो मियो आवश्यक भएको बताएका छन् ।

‘केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियो आवद्ध भएर बलियो र दरिलो नेपाल बनाउन दिव्यचेतना आउनु आवश्यक छ,’ उनले भनेका छन् ।


क्लिकमान्डु