घट्यो नोटको प्रयोग, कति छ चलन चल्तिमा ?



काठमाडौं । प्रविधिले फड्को मारेसँगै विद्युतीय कारोबार बढ्दा नोटको प्रयोगमा कमी आएको छ ।

विद्युतीय कारोबार बढेसँगै नोटको प्रयोगमा कमी आउन थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले पनि नोट भन्दा विद्युतीय कारोबारमा प्राथमिकता दिन थालेका छन् । बैंकहरुले एटीएम, अनलाइन भुक्तानी, क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्न प्राथमिकता दिएका छन् । जसले गर्दा पनि नोटको कारोबार घटेको छ ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाख २० हजार ९५१ रुपैयाँको नोट चलन चल्तीमा रहेको छ ।

साउनमा यस्तो नोट ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख ४० हजार ९२३ रुपैयाँ चलन चल्तीमा रहेको थियो । साउनको तुलनामा भदौमा चलन चल्तिमा रहेका नोट ५ अर्ब ६७ करोड ६० लाख १९ हजार ९७२ रुपैयाँले घटेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको भन्दा बाहेकको पैसालाई चलन चल्तीमा रहेको नोटको रुपमा गणना गर्ने गर्छ । नेपालमा यस्तो रकम चाडपर्वको समयमा बढ्ने र चाडपर्वपछि घट्ने गरेको छ ।

राष्ट्र बैंककाअनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थालाई दिने ऋण तथा सापटी रकम भने बढेको छ । साउनमा २ खर्ब ६० अर्ब १८ करोड २१ लाख ६५ हजार ४९१ रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई ऋण तथा सापटी रहेको थियो । भदौमा यो रकम बढेर २ खर्ब ६२ अर्ब १६ करोड ३६ लाख ४७ हजार ६१६ रुपैयाँ रहेको छ ।

यस्तै अन्य ऋण तथा सापटी १८ अर्ब ३९ करोड ८७ लाख ३ हजार ९२६ रुपैयाँबाट बढेर १९ अर्ब ८६ करोड ७६ लाख २४ हजार ४९० रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार आईएमएफ सम्बन्धी दायित्व साउनको तुलनामा भदौमा बढेको छ ।

साउनमा ४७ अर्ब ६४ करोड ५२ लाख ९० हजार ६३८ रुपैयाँ रहेकामा भदौमा ४७ अर्ब ७८ करोड ७३ लाख ३ हजार ४१२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु