महानगरको बजार अनुगमनः व्यापारी गोदाम बन्द गरेर भागे, कारबाहीको चेतावनी



काठमाडौ‌‌ । काठमाडौ‌ महानगरले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको छ ।

महानगरकी उपमेयर सुनिता डंगोलको नेतृत्वको टोलीले मंगलबारबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरले बुधबार कालिमाटीस्थित फलफूल तथा तरकारी बजारलगायतको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ ।

उपेमयर डंगोलले अनुगमनका क्रममा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य बस्तु बिक्री गरिरहेको भेटिएमा हटलाईन ११८० र १६६००१०५५११ मा खबर गर्न आग्रह गरिन । उनले अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिने बताइन् ।

उपमेयर डंगोलले कालिमाटी र कुलेश्वर क्षेत्रमा अुनगमन गर्दा केही खाद्यन्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको जानकारी दिइन् ।

‘केही खाद्यन्न पसलमा बिक्रीका लागि राखिएको सामानमा उत्पादन गर्ने कम्पनी र खान योग्य भनी प्रमाणित गरेको प्रमाणित नम्बर समेत प्रष्ट नभएको पनि भेटिएको र उनीहरुलाई दुई दिन भित्र उत्पादन कहाँ भएको र कसले गरेको खानयोग्य छ कि छैन सबै प्रष्ट पार्न निर्देशन दिएको बताइन् । दुई दिन भित्र त्यो प्रष्ट नभए कारवाही गर्नेसम्मको चेतावनी दिएको उनले बताइन् ।

‘अनुगमनका क्रममा कतिपय ठाउँमा राम्रो भेटियो, कतिपय ठाउँमा भने उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको भेटियो,’ उनले भनिन्, ‘कतिपय खाद्यन्न पसलमा घून लागेको चामल, चिउरालगायतका खाद्य सामग्री पनि भेटियो । ती सबै सामग्री सफत गरेका छौँ ।’

अनुगमन गरिएको एक खाद्यन्नलाई जरिबाना नै गराउने गरी सामान जफत गरेको पनि उनले जानकारी दिइन । ‘हामीले सामान जफत गरेका छौँ,’ उनले भनिन्, ‘हामी थप परिक्षण गर्छौ र कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

डंगोलले संगम स्वीटमा पनि अनुगमन गरेको जानकारी दिइन् । ‘त्यहाँ दुई वटा किचेन रहेको र एउटा किचेनमा प्रयोग भएको तेल शुद्ध भेटियो,’ उनले भनिन् ‘अर्को किचेनमा प्रयोग भएको तेल भने अशुद्ध भेटियो । विज्ञसहितको खाद्यको टोलीले परिक्षण गर्दा एउटा किचेनमा प्रयोग भएको तेल रातो बल्यो । त्यो भनेको प्रयोग नै गर्न नमिल्ने तेल भन्ने हुनेरहेछ ।’

उनले संगम स्वीटलाई आइन्दा यस्तो प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको जानकारी दिइन् । ‘कतिपय ठाउँमा महानगरपालिका अनुगमनमा आयो भनेपछि गोदामहरु सटर लगाएर भागेको पनि भेटियो,’ उनले भनिन्, ‘उहाँहरु आज भागेर केही हुन्न । हामी निरन्तर अनुगमन गर्छौ र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’

उनले अनुगमनका क्रममा घून परेको चामल चिउरालगायतका खाद्यन्न बिक्रि गर्ने कालीमाटी–कुलेश्वरको डी एण्ड डी खाद्य सप्लायर्सको सामाना जफत गरेको बताइन् । ‘उहाँहरुले हामीलाई म्याद गुज्रिएको सामान फिर्ता लैजानका लागि राखेको भन्नुभयो’ उनले भनिन् ‘तर, हामीलाई विश्वास नलागेपछि जफत गरेका हौँ ।’ त्यो सँगै अमन खाद्य किरानाको पनि सामान जफत गरेको उनले जानकारी दिइन् ।


क्लिकमान्डु