मेन्छियाम हाइड्रोपावरले सवा १६ करोडको आईपीओ निष्कासन गर्ने



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको १६ करोड २७ लाख ७५ हजार रुपैयाँ मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाका लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रुपैयाँको सामूहिक लगानी कोषका लागि निष्काशन गर्ने भएको छ । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार ३०० रुपैयाँ रहेको छ ।

सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० कायम हुनेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु