न्यूरोड, असनमा लागेन दशैं, कोरोनाकालभन्दा पनि सुस्त व्यापार



अन्य समयभन्दा बढी भिडभाड र व्यापार हुने काठमाडौं उपत्यकाको पुरानो किनमेल केन्द्र असनमा यो वर्ष दशैं नै लागेको छैन।

काठमाडौं । रविन्द्र तुलाधर (६८) ले असनमा ड्राइ फ्रुट्स बिक्री गर्न शुरु गरेको ४० वर्ष भयो । दशैं र तिहारमा सुख्खा फलफूल बिक्री अन्य समयभन्दा दोब्बर बढी हुन्थ्यो । तर, यो वर्ष भने तुलाधरलाई दशैं आए जस्तै लागेको छैन।

‘दशैंमा यसरी फुर्सदिलो भएको मलाई यादै छैन’, सोमबार बेलुका क्लिकमाण्डू संवाददाता असन पुग्दा तुलाधरले भने, ‘तिहारमा पनि यस्तै भयो भने व्यापारमा कसरी टिक्न सकिएला !’

रविन्द्र तुलाधर

बुवाले ४५ वर्षअघि न्यूरोडमा शुरु गरेको कपडा पसल सञ्चालन गरिरहेका पप्पु खान (४७) लाई पनि पनि यो वर्ष दशैं आएजस्तो लागेको छैन ।

‘१६ वर्षदेखि म यहीँ पसलमा काम गरिरहेको छु, दशैंमा पसल सफा गरेको याद छैन,’ खानले भने, ‘दुई जना कालिगढ फुर्सदमा छन् । कोरोनाको समयमा पनि व्यापारमा यस्तो मन्दी थिएन ।’

केही वर्ष अघिसम्म घटस्थापना शुरु हुनभन्दा अगाडि नै न्यूरोड, असन, खिचापोखरी, भोटाहिटीका गल्लीमा दशैंका लागि किनमेल गर्नेको घुइँचो लाग्ने गरेको थियो ।

पप्पु खान

यस वर्ष काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्न नदिएकाले पनि सडक खुला देखिएका छन् । फुटपाथ खुला भएर ओहोरदोहर गर्न सहज हुँदासमेत काठमाडौं उपत्यकाको पुरानो बजार न्यूरोडमा खरिदारी गर्न पुग्नेको संख्या घटेको छ ।

सामान महँगो, खरिद गर्ने नै छैनन्

सिन्धुपाल्चोक घर भएका रामानुज नेपालले खिचापोखरीमा पुरुषका तयारी कपडा बिक्री गर्न थालेको १५ वर्ष भयो । फूलपातीको दिनसम्म घर कहिले जाने भनेर सोच्नसमेत फुर्सद नहुने नेपाल यस वर्षभने फुर्सदमा छन् ।

‘पसलमा ग्राहक आए न व्यस्त हुने हो,’ नेपालले भने, ‘यो वर्ष त अन्य महिनाको जस्तो पनि व्यापार छैन ।’

गत वर्ष १ हजार ५०० रुपैयाँमा बिक्री गरेका सामानको मूल्य २ हजार ५ सय पुगेकोले पनि धेरै व्यक्ति सामान हेरेरमात्रै फर्कने गरेको नेपालको भनाइ छ ।

पिपुल्स प्लाजामा ५ वर्षदेखि लजिक फेसन सञ्चालन गरिरहेका मनोज केसीको पनि नेपालको जस्तै अनुभव छ । केसी कोरोना महामारी भन्दा पनि अहिलेको व्यापार सुस्त भएको बताउँछन् ।

‘विगतमा घटस्थापनाको दिन खाना खान पनि फुर्सद मिलाउनु पर्थ्यो,’ केसीले भने,‘अहिले त पसलमा पुग्ने ग्राहकको संख्यै कम छ । पसलमा ग्राहक आए पनि सामान किन्दैनन् ।’

लत्ताकपडा, खाद्यान्नमात्रै होइन यो वर्ष सुन र चाँदी कारोबारमा पनि सुस्तता आएको छ । महाकाली ज्वेलर्सका सञ्चालक राजेश जाजडिया सुन किन्न भन्दा पनि हेर्न आउनेको संख्या धेरै भएको बताउँछन् ।

‘बिहेका लागि बाहेक सुन किन्नेको संख्या घटेको छ,’ जाजडियाले भने, ‘बजारमा सुनको अभाव भएर ज्याला जर्दीको मूल्य बढेकाले पनि सुन किन्ने घटेका हुन सक्छन् ।’

४० वर्ष पहिला स्थापना भएको सनपरी कपडा पसलमा काम गर्ने गौतम शाक्य न्यूरोडको व्यापार घट्नु स्वभाविक भएको बताउँछन् । ‘पहिला अन्त पसल थिएन, त्यसैले धेरै व्यक्ति न्यूरोड पुग्दै पर्ने बाध्यता थियो,’ गौतमले भने, ‘अहिले धेरै ठाउँमा पसल छन् ।’

विगतका वर्षहरुको तुलनामा व्यापार नबढ्नु स्वभाविक भएको बताउने शाक्य यो दशैंमा तीन वर्षभन्दा अगाडि बराबर व्यापार नहुँदा भने अचम्मित छन् ।

क्लिकमाण्डू संवादाता न्यूरोड क्षेत्रमा पुग्दा धेरै पसलमा व्यवसायीहरु मोबाइल चलाएर फुर्सदमा ग्राहकको प्रतिक्षामा बसेका देखिन्थे । क्लिकमाण्डूले कुरा गरेका सबै व्यवसायीहरु बजारमा गत वर्षभन्दा बढ्नु पर्ने माग चार वर्ष अगाडिभन्दा कम हुँदा चिन्तित छन् ।

‘कोरोना महामारीको क्रममा सामान किन्ने मान्छे थिए, सामानको अभाव थियो,’ कस्मेटिक सामानको कारोबार गर्दै आएका रमण अग्रवालले भने, ‘अहिले सामान किन्ने व्यक्ति पनि छैनन्, सामान छ ।’

गत पुषदेखि बैंक तथा वित्तीय संस्था र सहकारीले ऋण नदिँदा बजारमा माग घटेको व्यवसायीको बुझाइ छ ।

‘बैंकले ऋण दिएको छैन । सहकारीले पनि ऋण दिँदैन । सेयर बजार घटेको छ । मानिससँग पैसा छैन । बजारमा पनि पैसा नै छैन,’ आरआर फेसन सञ्चालन गर्दै आएका नेपालले भने, ‘ कारोबार ठप्प छ । पहिला १/२ लाख आवश्यक पर्दा सरसापटी चल्थ्यो । अहिले कसैले सापटी नै दिँदैन ।’

गत बैशाखदेखि कारोबार सुस्त भए पनि दशैंको समयमा कारोबार बढ्ला भन्ने आसमा बसेका व्यवसायीहरुको चिन्ता बढेको छ । एक व्यवसायीका अनुसार रञ्जना मलमा होलसेलको कारोबार गर्ने तीन जना व्यक्तिले कारोबार बिग्रिएर आत्महत्या गरेका छन्।

‘तिहारमा पनि व्यापार यस्तै भयो भने धेरै ऋण लिएर कारोबार विस्तार गरेका कयौं व्यक्ति भागेर जाने जोखिम छ,’ एक व्यवसायीले भने, ‘मिटर ब्याजमा ऋण लिएका व्यक्तिलाई धम्की आउने क्रम बढेको छ । अहिले समस्यामा नरहेको व्यापारी नै छैन ।’

अनलाइन कारोबार पनि घट्यो

केही व्यक्तिहरु न्यूरोडको भिडकम हुनुमा अनलाइन कारोबार बढेको तर्क गर्छन् । तर, दराज केमु प्रालिको ब्राण्ड हेड सलिना नकर्मी भने गत वर्षको दशैंभन्दा यो वर्ष व्यापार घटेको बताउँछिन् ।

‘यो वर्ष भेण्डरले पर्याप्त सामान नराख्दा कारोबार रकममा गिरावट आएको हो,’ नकर्मीले भनिन्, ‘हाम्रो प्ल्याटफर्ममा नयाँ ग्राहक थपिएका छन् तर, कारोबार अघिल्लो वर्ष जस्तो छैन ।’

व्यवस्थितरुपमा सञ्चालन भएका इकमर्स मात्रै होइन, फेसबुक पेज बनाएर अनलाइन कारोबार गर्नेहरुको पनि व्यापार घटेको छ।

लत्ता कपडा र खाद्यान्न मात्रै होइन, यो वर्ष गाडी र मोटरसाइकलको समेत माग घटेको छ । ‘यसै गरी माग घट्दै गयो भने हामीलाई पनि व्यवसाय सञ्चालन गर्न कठिन हुन्छ,’ नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने,‘कोरोना महामारीमा बढेको माग घट्नु स्वभाविक भए पनि महामारी भन्दा पहिलो बराबर माग नहुँदा अचम्म लागेको छ ।’

कुनै पनि अर्थतन्त्रमा माग घट्दा त्यो अर्थतन्त्र ठूलो संकटमा जाने जोखिम हुन्छ । कोरोना महामारीको क्रममा नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दा बजारमा माग ह्वात्तै बढेको थियो । तर, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाले आन्तरिक उत्पादन बढाउन भूमिका खेल्न सकेन । उल्टो आयात उच्च दरमा बढ्यो । जसले गर्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट आयो । त्यसपछि नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गरेपछि सम्पूर्ण आर्थिक गतिविधीहरु सुस्त भएका छन् ।

राजस्व लक्ष्य प्रभावित हुँदै

बजारमा माग घट्दै जाँदा यो वर्ष आयात पनि घटेको छ । जसले गर्दा सरकारले गत वर्ष बराबर पनि राजस्व संकलन गर्न सकेको छैन । आगामी दिनमा पनि यही अनुपातमा माग घट्दै जाँदा आयात खुम्चिने र सरकारी राजस्व लक्ष्य झनै प्रभावित हुने सम्भावना छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यो वर्षको असोज १० गतेसम्म गत वर्ष भन्दा १४.०५ प्रतिशत कम राजस्व संकलन भएको छ । यो वर्ष असोज १० गते सम्म १ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्ष १ खर्ब ८५ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

‘बजारमा माग घटेर साना र ठूलासबै व्यवसायी मारमा छन्,’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो समस्या समाधान गर्न सकेनौं भने मध्यम वर्ग ठूलो मारमा पर्छ । हामी कसैले नसोचेको दुर्घटना हुनसक्छ ।’


शरद ओझा