हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड रुपैयाँ लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् ।

पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ । किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन् । ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको बताउँछन् हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा । करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उनीहरुले गरिरहेका छन् ।

किबीले अब केही समयमा उत्पादन दिने लामाले बताए । च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन् ।

ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन । किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताउनुहुन्छ सञ्चालक लामा । उहाँले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताए ।

यस भेगका प्रायः सबै नागरिक कृषि पेशामै आत्मनिर्भर छन् । तर किसानमा प्राविधिक ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ । तर हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने बताउनुहुन्छ फार्मका कृषि प्राविधिक विकास पौडेल । त्यहाँबाट उत्पादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ ।

यहाँको उत्पादन अर्गानिक रहेको र नजिकै पाउँदा सहज भएको पाल्चोक माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र खड्काले बताए ।

फार्मले नियमितरूपमा छ जनालाई र आवश्यकताअनुसार ४०–५० जनालाई रोजगारी दिएको छ । फार्ममा स्थानीय विद्यालयका विद्यार्थी पनि संलग्न हुँदै आएका छन् । यहाँ प्रयोगात्मक कक्षा गर्न विद्यार्थी आउने गरेका छन् । आफ्नै गाउँमा प्रयोगात्मक कक्षा गर्न पाएकामा हेलम्बुका मनोज पण्डितले खुसी व्यक्त गरे ।


क्लिकमान्डु