आलोचना लुकाउने बोर्डको प्रयासः नेप्सेले लिने तथ्याङ्कको शुल्क ६ गुणासम्म बढाएको होइन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कको शुल्क सम्वन्धमा बोर्डबाट ६ गुनासम्म वृद्धि गरि स्वीकृत गरेको भन्ने समाचार तथ्यहिन र भ्रामक भएको जनाएको छ ।

धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्र्दै उक्त समाचार तथ्यहिन र भ्रामक भएको जनाएको छ । बोर्डले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ (संशोधन सहित) को विनियम ३९ (क) मा धितोपत्रको कारोवार भए पश्चात उपलब्ध हुने तथ्याङ्क तथा जानकारी दिने सम्वन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यबिधि बनाई लागू गर्न सक्ने जनाएको छ ।

नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोवार भए पश्चातको तथ्याङ्क तथा जानकारी उपलब्ध गराए बापत कुनै शुल्क लिने व्यवस्था भएमा त्यस्तो शुल्क बोर्डबाट स्वीकृत भए पछि मात्र लिन सकिने व्यवस्था रहेको छ ।

त्यस बमोजिम नेप्सेबाट बोर्डमा पेश भएको नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क प्रयोग सम्वन्धी कार्यविधि–२०७७ मा उल्लेखित शुल्कहरु नेप्सेबाट स्वीकृतिका लागि बोर्ड समक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरि स्वीकृत गरिएको व्यहोरा जारी विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बोर्डले असोज पहिलो साता तथ्याङ्क प्रयोग सम्बन्धि कार्यविधि–२०७७ पारित गरेको छ । बोर्डले करिब २ वर्षदेखि रोकेर राखेको कार्यविधि नयाँ स्टक ल्याउने भएसँगै कार्यविधि जारी गरेको हो ।

उक्त कार्यविधिमा नेप्सेले लिने शुल्क ६ गुणासम्म बढाएको थियो । नयाँ स्टक आउनु भन्दा पहिला रोकेर राखेको र नयाँ स्टक आउने भएपछि उक्त कार्यविधि जारी गरेको भन्दै आलोचना भएको थियो । आलोचना पछि बोर्डले उक्त समाचार भ्रामक भएको जनाएको छ ।


क्लिकमान्डु