निर्वाचन आयोगको निर्देशन अर्थ मन्त्रालयद्वारा अवज्ञा, ब्याक डेटमा ६ उपसचिवको सरुवा



काठमाडौं । निर्वाचन आयोगले कर्मचारी सरुवा नगर्न दिएको निर्देशन अर्थ मन्त्रालयले अवज्ञा गरेको छ ।

गत बिहीबार निर्वाचन आयोगले आफ्नो सहमति नलिइ कर्मचारी सरुवा नगर्न निर्देशन दिएको थियो । तर, आयोगको निर्देशनलाई बेवास्ता गर्दै अर्थ मन्त्रालयले ६ जना उपसचिवको सरुवा गरेको छ ।

अर्थ मन्त्रालय गत भदौ ९ गते ५८ जना र १० गते थप ८ जना उपसचिवको नियमित सरुवा गरेको थियो । तर, आफू अनुकुल काम नगरेको भन्दै शनिबार दुई भन्सार कार्यालयका प्रमुख र १ आन्तरिक राजस्व कार्यालय प्रमुखलाई दुई वर्ष नपुग्दै सरुवा गरिएको छ ।

शनिबार उपसचिवहरुको इमेलमा पठाएको पत्रमा बुधबारको निर्णयबाट सरुवा गरिएको उल्लेख छ ।

‘बुधबार सरुवा भएको भए बिहीबार मन्त्रालयले पत्र पठाउने थियो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने,‘सरुवा नगर्न दिएको निर्देशन किन उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने भएकाले कानूनी रुपमा बच्न बुधबारको निर्णयबाट सरुवा गरेको देखाइएको हो ।’

अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकाललाई भन्सार विभागमा सरुवा गरेको छ । ४ वर्ष विभागमा बसेका ढकालको गत वर्ष असोजमा भैरहवा भन्सार प्रमुखमा सरुवा भएको थियो ।

उपसचिवको दुई वर्ष सरुवा नगर्ने कानूनी व्यवस्था भए पनि अर्थ मन्त्रालयको नेतृत्वसँग तालमेल नमिलेपछि ढकाललाई एक वर्षमै भन्सार विभाग तानिएको स्रोतले जानकारी दिएको छ ।

भैरहवाबाट गत वर्ष विभागमा आएका मनिराम पौडेललाई फेरि भैरहवा भन्सार कार्यालय प्रमुख बनाइएको छ ।

यस्तै, विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय प्रमुख रहेका सूर्य पोखरेललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा सरुवा गरिएको छ ।

पोखरेल गतवर्ष मात्रै आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख भएका थिए ।

अर्थ मन्त्रालयको नेतृत्वसँग विचार नमिलेकै कारण पोखरेललाई पनि दुई वर्ष नपुग्दै सरुवा गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा रहेका डिल बहादुर क्षेत्रीलाई लगिएको छ । क्षेत्री विगत ७ वर्षदेखि अर्थ मन्त्रालयको विभिन्न जिम्मेवारीमा थिए ।

यस्तै, मेची भन्सार कार्यालय प्रमुख भएको १ वर्षमै केशव राज ओलीलाई जनकपुर भन्सार कार्यालयमा सरुवा गरिएको छ । मेची भन्सारमा भने वित्तीय संघीयता समन्वय महाशाखामा रहेका रामप्रसाद पाठकलाई लगिएको छ । पाठक दुई वर्षदेखि मन्त्रालयमा थिए ।

अर्थ मन्त्रालयमा रहेका अर्का उपसचिव सुरेन्द्र पाण्डेलाई लुम्बिनी प्रदेशस्थित आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।


क्लिकमान्डु