दशैंमा घुम्न सकिने मध्य र सुदूरपश्चिमका आकर्षक गन्तव्य, खर्च र समय कति ?
काठमाडौं । नेपालमा प्राकृतिक र सांस्कृतिक पर्यटकीय गन्तव्य यति नै छन् भनेर कसैले भन्न सक्दैन ।
विश्वको सर्वोच्च शिखर सगरमाथा , बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्म भूमी, संसारको उच्च स्थानमा रहेको तिलीचो ताल, संसारको उच्च स्थानमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज, आठ हजार मिटर भन्दा बढी उचाई भएका आठ हिमाल, खप्तडको दलदल जमिन, विविधतायुक्त चितवन राष्ट्रिय निकुञ्ज, पोखराको सौन्दर्य र काँडे भ्याकुर चरा नेपाल बाहेक अन्त कतै पाइँदैन ।
घुम्ने खासै संस्कार नरहेको नेपाली समुदायमा पछिल्लो समय देशका साथै विदेश घुम्न जाने प्रचलन बढीरहेको छ । मनिसहरुसँग नगद पैसा हुन थालेपछि नेपालमा घुम्न संस्कृति बढेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी बताउँछन् ।
‘बिगतमा सम्पत्ति हुनेहरु सँग पनि नगद पैसा हुँदैन थियो । रेमिटेन्स र रोजगारीका नयाँ अवसरले मानिसहरुसँग नगद पैसा छ ’ जोश भन्छन्, ‘यस्तै पूर्वाधार विकासले पनि एक ठाउँबाट अर्को ठाउँ जान सजिलो बनाएको छ । नियमित कामको तनावबाट मुक्त हुन पनि घुम्ने प्रचलन बढेको हुनुपर्छ ।’
त्यसो त संविधानमा नै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा विकास गरिने उल्लेख छ । तर सरकारले त्यस अनुरुप पर्यटन पूर्वाधारमा लगानी बढाउन भने सकेको छैन ।
असोज, कात्तिक, मंसिर र फागुन, चैत वैशाख नेपाल घुम्ने सबैभन्दा राम्रो समय हो । त्यस बखत न तराईमा चिटचिट गर्मी हुन्छ न हिमाल– पहाडमा शिरशिर जाडो ।
पर्यटन क्षेत्रमा बिभिन्न व्यवसायीको सहयोगमा हामीले पश्चिम र शुदूरपश्चिममा पर्यटकको रोजाईमा परिरहेका केहि गन्तव्य छनोट गरेका छौं । दशैंमा घुमफिरको मुडमा हुनु हुन्छ भने यी गन्तव्य तपाईंको रोजाईमा पर्न सक्छन् ।
बर्दिया
प्राकृतिक सुन्दरता, बंगाल टाईगर र थारु संस्कृति बर्दियाको प्रमुख आकर्षण हो । लोपोन्मुख कृष्णसार संरक्षण क्षेत्र पनि बर्दियामै रहेको छ ।
बर्दियाको मूख्य आकर्षण ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज हो । केही समय अगाडि प्रकाशित तथ्यांक अनुसार बर्दियामा बाघको संख्या बढेर ८७ पुगेको छ ।
५०० प्रजाति जनावर, ४०० भन्दा बढी किसिमका चराचुरुङ्गी, १२० किसिमका माछा पाइने निकुञ्जमा चराचुरुङ्गीको चिरबिर सुन्दै हात्ति सफारी, जंगल सफारी, जिप सफारी, कर्णाली र बबई नदीमा फिसिङ र र्याफ्टिङ गर्न सकिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा नजिकै रहेको थारु होम रिसोर्टका सञ्चालक मोहन चौधरी बर्दिया जंगल सफारी गर्दा एक सिंङे गैडा, पाटे बाघ, हात्ति, मृगका बथान, जरायो लगाएतका जंगली जनावर सजिलै देख्न सकिने बताउँछन् ।
‘बर्दियामा धेरै भिडभाड नहुने भएकाले जंगलि जनावर धेरै भित्र भित्र लुकेका हुँदैनन्,’ उनी भन्छन् , ‘ राष्ट्रिय निकुञ्जले पनि ठाउँ ठाउँ मचानहरु बनाएको छ । त्यसैले यहाँ आएका पाउनाहरुले जंगली जनाबर देख्न पाएन भन्ने गुनासो गर्नु हुन्न । ’
बर्दिया पुग्नेहरुले थारु संस्कार र संस्कृति पनि जान्ने मौका पाउँछन् । प्राय होटलहरुले बेलुका सांस्कृतिक कार्यक्रम राखेका हुन्छन् ।
बर्दियामा कृष्णसार संरक्षणमा लागि राष्ट्रिय निकुञ्जबाट १५ किलोमिटरको दूरीमा ०.५ वर्ग किलोमिटर क्षेत्रमा कृष्णसार संरक्षित क्षेत्र रहेको छ । दुर्लभ बन्यजन्तुको रुपमा कृष्णसार संरक्षणका लागि सरकारले २०६४ सालमा छुट्टै क्षेत्र बताएको थियो । भारतीय अभिनेता सलमान खानलाई कृष्णसार मारेको आरोपमा जेल सजाय सुनाइएको थियो ।
संरक्षित क्षेत्रमा रहेको करिब ३०० कृष्णसार सहजै देख्न सकिन्छ । बर्दिया सदरमुकाम गुलरियाबाट ५ किलोमिटरको दूरीका खैरापुर भन्ने ठाउँमा कृष्णसार संरक्षित क्षेत्र रहेको छ ।
बर्दिया जादाँ छुटाउनै नहुने ठाउँ हो । चिसापानी । कर्णाली नदीको तिरमा बसेर कर्णालीको माछा खानुको छुट्टै आनन्द छ । नेपालको सबै भन्दा लामो नदी कर्णालीमा एउटा मात्र पिलरमा बनाइएको पुल निकै सुन्दर छ ।
२०५० सालमा चिसापानीमा ५०० मिटर लामो र १० मिटर चौडा पुल बन्नु अगाडि सुदूरपश्चिमबाट काठमाडौं आउन भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता थियो । कर्णाली पुलमा बाह्रै महिना चल्ने चिसो हावा निकै मनमोहक लाग्छ ।
चिसापानी पुगिसकेपछि समय भए कैलालीको टिकापुर पनि जान सकिन्छ । चिसापानीबाट ३० किलोमिटरको दूरीमा रहेको टिकापुर पार्कको ऐतिहासिक महत्व रहेको छ । राजा महेन्द्र र वीरेन्द्र बस्नेतका लागि बनाइएको घर पार्कभित्र संरक्षण गरिएको छ । राजा महेन्द्र र वीरेन्द्र पश्चिम नेपालको भ्रमणमा जाँदा टिकापुर पार्कमा बसेका थिए ।
केराको मःमदेखि वाइन सम्मका परिकारको लागि पनि टिकापुर निकै चर्चित छ ।
होटल खर्चः बर्दिया राष्ट्रिय निकुञ्जमा २६ वटा होटेलहरु रहेका छन् । अट्याच ट्वाईलेट वाथरुम र एसीसहितको कोठामा एक रात सुतेको २ हजार रुपैयाँ तिर्नु पर्छ । सुविधाअनुसार कोठाको मूल्य भने फरक छ ।
होमस्टेमा भने एक छाक मासु भात खाएर र बसेको १ हजार रुपैयाँसम्म पर्छ । ठाकुरद्वारामा सामुदायिक र व्यक्तिगत होम स्टे रहेका छन् । चिसापानी र टिकापुरमा भने २ हजार रुपैयाँ देखिसुविधा सम्पन्न होटलहरु पाइन्छन् ।
कसरी जाने ?
काठमाडौँबाट प्लेनमा ५० मिनेटमा नेपालगञ्ज र त्यहाँबाट १.५ घण्टामा बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । नयाँ बसपार्कबाट बर्दिया सदरमुकाम गुलरियासम्म डिलक्स बसमा २ हजार १ सय रुपैयाँ भाडा पर्छ ।
बसपार्कबाट बेलका ५ बजे छुट्ने गाडीले अर्को दिन ७ बजेसम्म गुलरिया पुर्याउँछ । गुलरियाबाट ५ किलोमिटरमा पर रहेको कृष्णसार संरक्षण क्षेत्र हेर्दै १.५ घण्टामा बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ ।
सदरमुकाम नगएर सिधैं राष्ट्रिय निकुञ्ज जाने हो भने नयाँ बसपार्कबाट बर्दियाको भुरीगाउँसम्म नाईट बसमा जान सकिन्छ । भुरीगाउँ जान गाडी भाडा र समय गुलरियाकै बराबर लाग्छ । भुरिगाउँबाट लोकल बसमा ठाकुरद्वारा पुग्न सकिन्छ ।
प्रमुख आकर्षणः हात्ती प्रजनन केन्द्र, गोही प्रजनन केन्द्र, थारु सांस्कृतिक संग्राहलय, हात्ती सफारी
दैलेख
दैलेखमा पञ्चकोशी क्षेत्र, कृतिखम्व, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, कोतगढी, पञ्चदेवल, वेलासपुर लगाएतका सम्पदा महत्वपूर्ण पर्यटन गन्तव्य हुन् । कोटिला, नाभिस्थानमा, श्रीस्थान, पादुका र धुलेश्वरलाई पञ्चकोशी क्षेत्र भनिन्छ ।
सुर्खेतबाट कर्णाली राजमार्ग हुदैँ दैलेख जादाँ सदरमुकाम दैलेख बजार भन्दा २५ किलोमिटर वरै दुल्लुक्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्री स्थान र नाभिस्थानभित्र नित्य प्रज्वलित ज्वाला हेर्न पर्यटकहरु पुग्ने गर्छन् ।
श्रीनगरको ज्वालालाई धार्मिक रुपमा शक्तिको प्रतिकको रुपमा लिइन्छ भने वैज्ञानिक रुपमा प्राकृतिक ग्यास रहेको बताइन्छ । कोटिला क्षेत्र कोटिलिंगेश्वर महादेव नामले प्रख्यात रहेको छ । नाभिस्थानमा सतिदेवीको नाभी खसेको जनविश्वास रहेको छ ।
पादुका क्षेत्रमा केही दशकअघिसम्म अनवरत रुपमा ज्वाला बल्ने गर्थ्यो । पादुका खोलामा बाढी आएर बगाएपछि ज्वाला बलेको छैन ।
दिनभर पञ्चकोशी भ्रमणपछि सदरमुकाम आएर विश्रामसँगै दैलेखको सबैभन्दा अग्लो महावु लेक, द्वारी, झरना, तीनचुले लेकलगायत स्थानको भ्रमण गर्न सकिन्छ । दैलेख बजार नजिकै रहेको बिलासपुरबाट दैलेखको मनोरम दृश्य देखिन्छ ।
श्रीस्थान तथा नाविस्थान लगाएत अन्य केहि क्षेत्रमा पुग्ने सडक सामान्यतया सुधार भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।
नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा रहेको छ । दामुपालको शिलालेख दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने कृतिखम्ब बजारमा कीर्तिस्तम्भको साथमा राखिएको छ ।
योगी नरहरिनाथले गरेको अनुसन्धान र खोजअनुसार कीर्तिस्तम्भमा सिंजा राज्यका खस राजाहरूको वंशावली कुँदिएको छ ।
दैलेखमा प्राचीन समयमा युद्ध जितिसकेपछि स्थापित स्तम्भ तथा वीरखम्बाहरु पनि रहेका छन् ।
यहाँ पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भहरु आजभोली पर्यटकहरुको लागि अध्यन अवलोकन स्थल बनेका छन् ।
खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु नगरपालिकामा अहिले पनि दुल्लु दरबार रहेको छ ।
दैलेखको सदरमुकामको भूर्तीमा रहेको पञ्चदेवल विश्व सम्पदा सूचीको प्रतिभा सूचिमा सन् २००८ मा परेको थियो ।
पञ्चदेवलमा शिखर शैलिमा निर्मित २२ वटा पुरातात्विक महत्वका स्मारकहरु रहेका छन् । पञ्चदेवल रहेका स्मारकहरु कहिले र कसले निर्माण गर्यो भन्ने एकिन जानकारी नभए पनि स्थानीयहरुलाई पाण्डवहरुले निर्माण गरेको विश्वास छ । भूर्तिमा रहेका देवलहरु शिखरशैलीमा बनेको ६ फिट देखि १५ फिट सम्म उचाईका रहेका छन् ।
बहादुर शाहको नेपाल एकीकरण अभियानको क्रममा वि.सं.१८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेको ऐतिहासिक कोतगढी दैलेख बजारमा रहेको छ । संरक्षण अभावमा थला परेको गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढीभित्रबाट दैलेख जिल्ला हेर्नको लागि १३ वटा प्वालहरु बनाइएका छन् ।
नेपालमा रहेका आर्यहरुको उदगम क्षेत्र जुम्लाको सिंजा हो । तर आर्यहरुको थरगोत्रलाई हेर्दा अधिकाशं थर भएका आर्यजातीहरुको उदगम क्षेत्र दैलेख भएको पाइन्छ । जस अनुसार दैलेखको दुल्लूबाट दुलाल, बासीबाट बस्याल, बडबाट बराल (बडाल), लम्जीबाट लम्जेल, नेपाबाट नेपाल, लामीछानीबाट, लामिछाने, लयाटीबाट लुईटेल, भुर्तीबाट भुर्तेल, दवडाबाट दवाडी,पराजुलबाट पराजुली, दहबाट दाहाल, कटटीबाट कटटेल, रिजुबाट रिजाल, हुमेगाउबाट हुमागाई, लम्सुबाट लम्साल थरको उदगम भएको मानिन्छ । आफ्नो पुर्खाको उदगमस्थलको भ्रमणको लागि पनि आजभोलि धेरै पर्यटकहरु दैलेख पुग्ने गरेका छन् ।
दैलेखबाट कालिकोट, जुम्ला हुँदै रारा ताल जान सकिन्छ । कर्णाली प्रदेशमा नेपालको सबैभन्दा गहिरो रारा ताल, सबै भन्दा ठूलो शे-फोक्सुण्डो ताल लगाएतका पर्यटकीय आकर्षण रहेका छन् ।
फकिदाँ कर्णाली प्रदेश सदरमुकाम विरेन्द्रनगर नजिकै रहेको कांक्रेविहार, जान सकिन्छ । कर्णाली राजमार्गले दैलेख, जुम्ला मुगुलाई सडकसञ्जाल सँग सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ । २ हजार रुपैयाँले दैलेखमा एक रात खान बस्न पुग्छ ।
कसरी पुग्ने ?
काठमाडौं सुर्खेत रात्री बसमा करिब १४ घण्टामा पुग्निछ । नेपालगञ्जसम्म प्लेनमा र त्यहाँबाट ३ घण्टामा सुर्खेत पुगिन्छ । सातामा ४ दिन सुर्खेतसम्मै जान प्लेन पाइन्छ ।
सुर्खेत सदरमुकामदेखि बसको यात्राबाट ३ घण्टामा दुल्लु र दुल्लुबाट १ घण्टामा दैलेख बजार पुगिन्छ । सुर्खेतदेखि दैलेख बजार सम्मको सडक कालोपत्रे गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
विसाल घाँसे मैदानको फाटँ र एकै साथ देखिने २ हजार भन्दा बढी बाह्रसिङ्गाको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख विषेशता हो । ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको राष्ट्रिय निकुञ्जमा ६.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटै घाँसे मैदान रहेको छ । उक्त घाँसे मैदान नेपालकै सबै भन्दा ठूलो घासे मैदान हो ।
निकुञ्जको कुल क्षेत्रफलको करीब १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ । सन् १९६९ मा स्थापना गरिएको शुक्लाफाँटा शिकार आरक्षलाई सन् १९७६ मा बन्यजन्तु आरक्ष र सन् २०१७ मा राष्ट्रिय निकुञ्ज बढोत्तरी गरिएको हो । विश्वका संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाह्रसिङ्गाको संरक्षणका लागि शुक्लाफाटाँलाई यस अघि आरक्षका रूपमा स्थापना गरिएको थियो ।
शुक्लाफाटाँमा बाह्रसिङ्गाका साथैं पाटे बाघ, एक सिंङे गैँडालगायतका वन्यजन्तु पनि पाईन थाले पछि पर्यटन प्रबर्धन गर्न राष्ट्रिय निकुञ्ज बनाइएको थियो । निकुञ्जको बाबाताल, रानीताल, लालपानी र शुक्लाफाँटा क्षेत्रमा बाघ देखिने गर्छ । ४२३ किसिमका चराचुरुङ्गि, २५०० भन्दा बढी बाह्रसिंङे रहेको शुक्लाफाटाँमा ७०० किसिमका वनस्पति पाइने गर्छ ।
१७ एकसिङ्गे गैँडा रहेको निकुञ्जमा २१ पाटे बाघ छन् । सन् २०१० मा बर्दियाबाट शुक्लाफाटाँमा दुर्लभ जनावर कृष्णसार स्थानान्तरण गरिएको थियो । निकुञ्जको अर्जुनीफाँटा क्षेत्रमा ६४ कृष्णसार समेत रहेका छन् ।
कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरबाट निकुञ्ज कार्यालय मजगाउँ ५ किलोमिटर पश्चिममा पर्छ ।
शुक्लाफाटाँ राष्ट्रिय निकुञ्ज क्षेत्रमा परापुर्वकालमा थारु राजा रहेका सिंपालको दरबार रहेको बताइन्छ । निकुञ्जभित्र रहेको रानी ताल नजिकै दरबारबारे लेखिएको सिलाखेल रहेको छ ।
शुक्लाफाटाँ पुग्नेले छुटाउनै नहुने ठाउँ हो निकुञ्जबाट ५ किलोमिटरको दूरीमा रहेको झुलुंगे पुल । कञ्चनपुर जिल्ललाको पिप्रैयामा भन्ने ठाउँमा रहेको झुलुगे पुल दक्षिण एसियाको सबै भन्दा लामो पुल हो ।
महेन्द्रनगरमा तीन तारे होटलको सुविधा भए पनि निकुञ्ज नजिक भने एउटा मात्रै रिसोर्ट छ । रिसोर्टमा २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँ सम्मका कोठा छन् ।
निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारु समुदायले समुदायिक होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा भने एक रात बस्न ५ सय रुपैयाँ भए पुग्छ । कञ्चनपुर र कैलाली जिल्लामा मात्र बसोबास भएका राना थारु समुदायको संस्कृति बुझ्न होमस्टे मद्दत गर्छ ।
प्राय असोजदेखि चैतसम्म शुक्लाफाटाँ पुग्नेको संख्या धेरै हुने गर्छ । बैशाख जेठको गर्मी र त्यस लगत्तै सुरु हुने बर्खाले शुक्लाफाटाँ पुग्न पर्यटकको संख्या कम हुन्छ । हरेक वर्ष असोजमा निकुञ्ज प्रशासनले घासे मैदान कटानी गर्दै निकुञ्ज प्रवेश गर्ने ट्रयाक बनाउने गर्छ ।
कसरी पुग्ने ?
काठमाडौँ नयाँ बसपार्कबाट ७०४ किलोमिटरको दुरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर १७/१८ घण्टामा रात्री बसबाट पुगिन्छ । महेन्द्रनगरबाट शुक्लाफाटाँ ५ किलोमिटरको दूरीमा रहेको छ ।
यस्तै काठमाडौँबाट धनगढीसम्म प्लेनमा ५० मिनेट र धनगढी गेटा विमानस्थलबाट करिब डेढ घण्टामा शुक्लाफाँटा पुगिन्छ ।
काठमाडौंबाट शुक्लाफाँटा पुगेर फर्कन पुग्न प्लेन ३ दिन र बसमा भने कम्तिमा ५ दिन छुट्याउनु पर्छ । दशैंको सिजनमा काठमाडौंबाट जाने प्लेनको भाडा महंगो हुने भए पनि फर्कदा भने निकै सस्तो हुन्छ । त्यसैले दुईतर्फी भाडा जोड्दा अन्य समयको बराबर नै हुन्छ । यस्तै एसी, डिलक्स र साधारण गाडीमा छुट्दा छुट्टै भाडा छ ।
सुदूरपश्चिम शक्तिपिठ प्याकेज
सुदूरपश्चिममा पर्यटकीय सम्भावनाका हिसाबले कयौँ प्राकृतिक र सांस्कृतिक आकर्षणहरु छन् । खप्तड, रामारोसन, अपि, शैपाल शुक्लाफाँटा, घोडाघोडी आदी ।
पछिल्लो समय सुदूरपश्चिमका पर्यटन व्यवसायीले शक्तिपिठ प्याकेज प्रवर्धन गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा नबदुर्गा भगवतीका सातै बहिनीको मन्दिर रहेको धार्मिक विश्वास छ ।
शक्तिपिठ प्याकेजअन्तर्गत सबैभन्दा पहिला डडेलधुरामा उग्रतारा भगवती जाने गरिन्छ । डडेलधुरामा उग्रतारा मन्दिरका साथै नेपाल एकीकरण गर्दाका बखत अम्मर सिहं थापाले बनाएको अम्मरगढी किल्ला रहेको छ ।
डडेलधुरापछि बैतडीमा निंगलाशैनी भगवती, त्रिपुरा सुन्दरी र मेलौली भगवतीको दर्शन गर्न सकिन्छ ।
दुई दिन बैतडीमा बिताएपछि चौंथो दिन बझाङमा सुर्मा देवीको दर्शन गरेर डोटी पुगिन्छ । डोटीमा शैलेश्वरी मन्दिरको रहेको छ । यी सातै देवी नबदुर्गाका सात बहिनी भएको जनविश्वास छ ।
सातै मन्दिर पक्कि सडकसँग जोडिएकाले यात्रामा कठिनाइ हुँदैन । सातै मन्दिरको दर्शन पूरा गरेर पाचौँ दिन धनगढी फर्किन सकिन्छ ।
डडेलधुरा र डोटीमा सुविधा सम्पन्न होटलहरु रहेका छन् । बैतडीमा भने खोजे अनुसारको होटल नपाइन सक्छ । धनगढीमा तीन तारे सम्मका होटल रहेका छन् ।
जगदम्बा ट्राभल एण्ड टुर्सका सञ्चालक तथा नेपाल ट्राभलएण्ड टुर्सका सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया भट्ट निजी गाडीमा ६ जनाको समूह बनाएर धनगढीबाट सातै शक्तिपिठको दर्शन गर्न ६० हजार रुपैयाँ लाग्ने बताउँछन् ।
‘सार्वजनिक गाडीमा जाने हो भने सस्तो हुन्छ । तर समय धेरै लाग्ने गर्छ’ उनी भन्छन् ।
शैलेश्वरी मन्दिरको दर्शन पछि ३ दिन समय हुने हो भने खप्तडसम्म पुगेर आउन सकिन्छ ।
केही वर्ष यता खप्तडमा भएको पूर्वाधार विकास र प्रचारप्रसारले पर्यटकको संख्या बढ्दो छ । खप्तड डोटीको झिङाना, बझाङ, बाजुरा र अछामबाट पनि जान सकिन्छ ।
सुदूर पश्चिममा आन्तरिक पर्यटक बढिरहेको भट्ट बताउँछन् ।
कसरी पुग्नेः काठमाडौँबाट सिधै डडेलधुरा पुगेर पनि शक्तिपिठको यात्रा सुरु गर्न सकिन्छ । काठमाडौँको नयाँ बसपार्क डडेलधुरा शञ्चालनय सुविधा भएको बसले २२ घण्टामा पुर्याउँछ ।
प्लेनमा जाने हो भने काठमाडौँबाट धनगढी करिब १ घण्टामा र त्यहाँबाट गाडीमा डडेलधुरा ३ घण्टामा पुग्न सकिन्छ ।