निर्यातमा दिने नगद अनुदानसम्बन्धी कार्यविधिको मस्यौदा अन्तिम चरणमा छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा दिने नगद अनुदानसम्बन्धी कार्यविधि अन्तिम चरणमा रहेको बताएका छन् । नाडा इभी अटो प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले यस्तो बताए ।

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट, स्टील, पानी लगायतका विभिन्न वस्तु निर्यात गर्ने उद्योगीलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेका थिए ।

आर्थिक वर्ष शुरु भएको दुई महिना बित्दासमेत नगद अनुदानसम्बन्धी कार्यविधि नआएपछि उद्योगी व्यवसायीहरु निराश बन्दै गएका थिए ।

अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीलाई निराश नहुन आग्रहसमेत गरेका छन् ।

‘नेपालबाट सयौं वस्तुहरु निर्यात भइरहेका छन्, तर आँकडा देखिने गरी निर्यात भएको छैन, त्यसैले हाामीले आँकडा देखिने गरी निर्यात होस् भन्ने उदेश्यले बजेटमा विभिन्न वस्तुहरुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेका थियौं,’ मन्त्री शर्माले भने, ‘अहिले त्यसको कार्यविधि अन्तिम चरणमा पुगेको छ । र, कार्यविधि पारित भएपछि होइन कि आर्थिक वर्षको शुरुवातदेखि नै निर्यात गर्ने उद्योगी व्यवसायीलाई नगद अनुदान दिन्छौं ।’

व्यवसायीलाई ढुक्क भएर अघि बढ्न उनले आग्रह गरे ।

अहिले बिजुली निर्यात भइरहेको उल्लेख गर्दै त्यसमा आफ्नो असन्तुष्टि व्यक्त गरे ।

‘अहिले बिजुली निर्यात भइरहेको छ, यो राम्रो हो तर यसमा मेरो धारणा फरक छ, बिजुलीको प्रयोग गरेर उत्पादन गरिएका वस्तुहरु निर्यात गर्नुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने

निर्यातबाट आउने विदेशी मुद्रा अटो मोवाइल लगायत किन्नका लागि सरकारले उपब्ध गराउने उनले प्रष्ट पारे ।


क्लिकमान्डु