राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि नै प्रहार : सत्ता गठबन्धन



काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संघीय संसद्को घोर अपमान र अवमूल्यन गरेको आरोप लगाएको छ ।

बालुवाटारमा बुधबार बिहान बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको बताएको हो ।

‘नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षाण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको ठहर्छ,’ चार दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ ।’

राष्ट्रपतिको कदमले लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार गरेको उनीहरुको ठहर छ ।


क्लिकमान्डु