राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ: सरकार



राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ : सरकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त रहेको बताए ।

‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयक शीतल निवासमा रहेको छ । विधेयक प्रमाणीकरणका लागि पठाएको आज १५ औं दिन हो । संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर, दुवै सदनले फिर्ता आएको विधेयकलाई जस्ताको तस्तै पास गरेर प्रमाणीकरणका लागि पठाएपछि राष्ट्रपति असन्तुष्ट रहेकी छन् ।


क्लिकमान्डु