१७ महिना अघि उद्घाटन भएको धरहरा, तेस्रो पटक थपिएको समयमा पनि पूरा नहुने



काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको वैशाखमा उद्घाटन गरेको धरहरा तेस्रो पटक थपिएको समयमा पनि निर्माण सम्पन्न नहुने भएको छ । धरहराको भवनका लागि थपिएको असोज मशान्तसम्मको समय र धरहरा क्षेत्रका सम्पूर्ण संरचनाका लागि थपिएको पुस मसान्तसम्मको समयमा पनि निर्माण कार्य सम्पन्न नहुने भएको हो ।

पछिल्लो पटक गत चैतमा म्याद सकिएपछि असोज मशान्तसम्मको म्याद थपिएको थियो । धरहरा निर्माणको जिम्मा पाएको शहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीकाअनुसार तोकिएको समयमा धरहराको निर्माण कार्य सक्न असम्भव देखिएको हो ।

गत चैत मशान्तसम्म तोकिएको म्याद सकिएपछि निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका लागि धरहराको संरचनाको निर्माण असोज मशान्तसम्म र धरहरा अवस्थित सम्पूर्ण क्षेत्रको निर्माण पुस मसान्तसम्म सक्नेगरि म्याद थपिएको थियो । तर, धरहराको निर्माण गर्ने क्रममा दुरसञ्चारका तारदेखि पानीको निकासालगायतका समस्याले गर्दा ढिलाइ हुने देखिएको छ ।

‘असोज मसान्तसम्ममा काम सकिदैंन,’ अधिकारीले भने, ‘हामीले युटिलिटी ब्लकका कामहरु गर्दा अनेक समस्या आइरहेका छन् । दुरसञ्चारको तारदेखि सञ्चय कोषको भवनको विवादले गर्दा अहिले काममा समस्या भइरहेको छ । असोज मसान्तसम्ममा धरहराको काम सम्न असम्भव छ ।’

हतारमा उद्घाटन, निर्माण बाँकी

२०७२ सालको भुकम्पमा भत्किएको धरहरालाई पुनः निर्माण गर्नेभन्दै २०७५ सालमा धरहरा निर्माणको सम्झौता गरेको थियो । रमन कन्स्ट्रक्सनसँग भएको ठेक्का सम्झौतामा निर्माण कार्य शुरु भएको दुई वर्षभित्रमा काम सक्ने गरी सम्झौता भएको थियो । २०७५ कात्तिकमा शुरु भएको निर्माणको कामका लागि तोकिएको म्याद २०७७ कात्तिक मशान्तसम्म तोकिएको थियो ।

उक्त समयमा धरहराको काम नसकिएपछि पुनः निर्माण प्राधिकरणमार्फत् फरक फरक समयमा गरी एक वर्ष म्याद थपेको थियो । म्याद थप भएपछि निर्माणको अवधी २०७८ चैत ३० सम्म लम्बिएको थियो । तर, निर्माण सम्पन्न नहुँदै गत वर्ष बैशाख ११ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरिदिए ।

पुनर्निर्माण प्राधिकरणमार्फत् भइरहेको धरहराको कामको जिम्मा त्यसपछि भने शहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)लाई दिइएको थियो ।

गत चैत ३० मा म्याद सकिएपछि निर्माण कम्पनीले इकाईसँग डेढ वर्षको समय थप लाग्ने भन्दै सोहीअनुसार समय थप गर्न माग गरेको थियो । कोरोना महामारीदेखि पुराना संचरना भत्काउन लागेको समय, सञ्चय कोष र हुलाकको भवन भत्काउने क्रममा भएको विवादजस्ता कारणले काममा ढिलाई भएकाले निर्माण कम्पनीले थप डेढ वर्ष समय माग गरेको थियो ।

तर, चैतमा सकिएको निर्माण अवधीपछि धरहराका लागि असोज मसान्तसम्म र पुरै क्षेत्रभित्रको संरचना निर्माणका लागि पुस मशान्तसम्म्को म्याद थपिएको थियो ।

तेस्रो पटक थपिएको म्यादमा पनि धरहराको काम नसकिने भएको छ । हाल धरहराको अगाडिको भवनमा वाटर प्रुफिङको काम भइरहेको छ । तर, ब्लक राख्ने क्रममा दुरसञ्चारका तारहरु भेटिएको र तीनिहरुलाई हटाउन सञ्चारममा समस्या आउने भएपछि काम गतिशिलरुपमा अघि बढ्न सकेको छैन ।

अर्कातिर, पानी आउने र निकासाको बाटो नबन्दासम्म काठमाडौं महानगरपालिकाले सुन्धारापट्टिको क्षेत्रमा काम गर्न नमिल्ने भनेकाले काममा थप ढिलाई भइरहेको इकाईका प्रमुख कोषनाथ अधिकारी बताउँछन् ।

निर्माणमा व्यावधानले थप समय लाग्ने

हाल धरहराको पारीपट्टिको भवनको स्टक्चर बनाउने काम सकिएको अधिकारी बताउँछन् । अगाडीको भवनमा वाटर प्रुफिङको काम भइरहेको छ । तर, युटिलिटी ब्लकको निर्माणका लागि खन्दा त्यहाँ दुरसञ्चारका तारहरु भेटिएको र एकपटकमा १८ हजारभन्दा धेरै लाइनमा समस्या आउने भएपछि उक्त काम अघि बढ्न सकेन् । हाल ब्लक निर्माणका लागि डेढ मिटर पर खन्ने काम भइरहेको अधिकारी बताउँछन् ।

‘एउटा समस्या अहिले वर्षाले गर्दा भएको छ,’ उनले भने, ‘अर्कातिर खानेपानीको पाइप, बिजुलीको तार र दुरसञ्चारका तारहरुजस्ता कुराहरुले खनेर बनाउनुपर्ने ब्लकको काम अघि सर्न सकेको छैन ।’

अधिकारीकाअनुसार अगाडिको धरहराको संरचनामा एउटा ब्लक निर्माणको काम बाँकी छ । जमिन मुनिको भागमा निर्माण गरिनुपर्ने कुरा भएकाले वर्षाको समयमा यसो गर्न समस्या भइरहेको छ ।

उनी भन्छन्, ‘तारहरु धरहराको जग्गाभित्र ल्याएर राखिदिएको छ । काम गर्दा उहाँहरुलाई समस्या हुन्छ । काम नगर्दा धरहराको निर्माण सकिँदैन ।’

हाल धरहराको करिब ५ प्रतिशत काम बाँकी नै छ भने पुरै क्षेत्रमा बन्नुपर्ने संरचनाहरुमा अझै धेरै काम बाँकी छ ।
‘जमिनमुनि बनाउनुपर्ने संरचनाको काम गर्न समस्या भइरहेको छ,’ अधिकारी भन्छन्, ‘हामीले त्यसलाई ढेड मिटर पर सारेर निर्माण काम अघि सारेका छौं । ब्लक डेढ मिटर राखेर काम गर्न थालेका छौं । तारहरु सार्न सक्ने अवस्था नभएपछि हामीले ब्लक नै सारेर काम गर्न थालेका छौं । पाइपदेखि तारहरु सार्न नमिल्दा हामीले बनाउनुपर्ने संरचना नै सारेर काम गरिरहेका छौं ।’

अर्कातिर, सुन्धारा क्षेत्रमा बन्न बाँकी संरचनाको काम पनि तत्कालै हुन पाएको छैन । अधिकारीकाअनुसार पहिले धरहरा क्षेत्रमा आउने पानी र पानी निकासाको काम गरेर मात्रै सुन्धारा क्षेत्रतर्फको काम गर्न महानगरले पत्राचार गरेको छ । हाल इकाईले निर्माण व्यावसायीलाई पनि पहिले पानी ल्याउने र त्यसलाई निकासा गर्ने काम पुरा गर्न भनेको छ ।

अधिकारी भन्छन्, ‘भिमसेन स्तम्भको रेट्रोफिटिङको काम गर्नुभन्दा पानी आउने र निकासा हुने माध्यमको काम गर्न महानगरपालिकाले भनिरहेको छ । त्यसैले, सोही काम पहिले गर्ने र अरु काम पछि गर्ने तयारी भएको छ ।’

स्थानीय तहबीचको समन्वय, दुरसञ्चारका समस्या, सञ्चय कोषको भवनको विवादजस्ता विषयले गर्दा धरहराको काम थप लम्बिने देखिएको छ । पुनः निर्माण प्राधिकरणले इकाईलाई धरहरा निर्माणको जिम्मा दिँदा ६० प्रतिशत मात्रै काम सकिएको थियो भने भैपरी आउने विवादहरुको समाधान भएको थिएन् ।

६० प्रतिशत काम सकिएको अवस्थापछि ६/६ महिना समय दुई पटक थपिएको थियो । प्राधिकरणमार्फत् नै एक वर्ष समय थपिएर इकाईको मताहतमा धरहरा निर्माणको जिम्मा आएको थियो । बाँकी रहेको ४० प्रतिशत काम फिनिसिङको काम भएकाले पनि त्यसमा थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता हुँदा अनेक समस्याहरु अहिले देखिरहेको बताउँछन् अधिकारी ।

धरहराको भवन र धरहराको सम्पूर्ण क्षेत्रको निर्माणको कामका लागि पुस महिनासम्मको समय तोकिएको छ । तर, यो अवधीमा सम्पूर्ण काम सकिने अवस्था छैन । अधिकारीकाअनुसार महानगरले पानी आउने र निकासा गर्ने काम पहिले गर्न भनिरहेको छ । दुरसञ्चारका तारहरु धरहराको क्षेत्रभित्र पर्ने भएकाले त्यसलाई हटाउने अवस्था पनि छैन । सञ्चय कोषको भवन क्षेत्रमा पानी पस्ने भएकाले त्यहाँ पनि पर्खाल लगाउनुपर्नेलगायतका कामहरु बाँकी नै छन् ।

अधिकारी भन्छन्, ‘अहिले थुप्रै समस्याहरु देखिएका छन् । वर्षाको समयमा पानीको निकासाका लागि ८/९ मिटर खनेर काम गर्ने अवस्था पनि छैन ।’

प्राधिकरणले यी सबै समस्याहरुको समाधान सुरुवातमै गरेर धरहराको निर्माण कार्य सुरुवात गरेको अहिले यो समस्याहरु नआउने इकाईका एक कर्मचारीले बताए । प्राधिकरणले समस्याहरु ‘विस्तारै समाधान हुन्छन्, पहिले धरहरा समाधान गर्दै जाउँ’ भन्ने किसिमले काम सुरु गर्दा अहिले पुराना समस्याहरु देखिएको ती कर्मचारीले बताए । प्राधिकरणले शुरुवातमा नै यी समस्या र विवादको समाधान गरिदिएको भए अहिले निर्माण सम्पन्न हुने बेलामा समस्या हुने अवस्था सिर्जना हुँदैन थियो ।

३ अर्ब ४८ करोड रुपैयाँको लागतमा निर्माण ठेक्का लागेको थियो । अब पानी ल्याउने र निकासा गर्ने विषयमा थप खर्च हुने देखिएको छ । धरहराको प्रारम्भिक निर्माण संरचनाको डिजाइनमा यी पक्षहरु समेटिएका थिएनन् । यी पक्षहरु पछि थपिएका हुन् । जसकारण केही खर्च बढ्न सक्ने अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘हामीले उनीहरुलाई नयाँ कुराहरु के के भएका छन्, त्यसको मूल्यांकन गरेर के कति खर्च बढ्न सक्छ अभिलेख गर्न भनेको छु । तर, यो सबै हुँदा धेरै खर्च बढ्दैन । थोरै मात्रामा खर्च बृद्धि हुन सक्छ ।’


युवराज भट्टराई