नयाँ स्टकका लागि बोर्डले माग्यो आवेदन, निजी क्षेत्रको स्टक आउँदा अन्तर्राष्ट्रिय प्रविधि भित्रिन्छः सेबोन



काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन माग गरेको छ । बोर्डले २ गते (आज) सूचना प्रकाशित गर्दै इच्छुक धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले ४५ दिन भित्र आवेदन दिन भनेको छ ।

बास्तविक क्षेत्रका सङ्गठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकाले नयाँ स्टक ल्याउन लागेको बोर्डको धारणा छ ।

धितोपत्र वजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न आवेदन खुला गरेको बोर्डले जनाएको छ ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्न भनेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधिनमा रही धितोपत्र बजार सञ्चालन गर्न उद्देश्यले प्रचलित कानुन बमोजिम सीमित दायित्वका सङ्गठित संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापना गर्न अघि बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको छ ।

बोर्डले धितोपत्र बजार सञ्चालन गर्न त्यस्ता सङ्गठित संस्था स्थापना गर्न चाहनेलाई सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डवाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम देहायका सर्तहरूको अधीनमा रही निवेदन पेस गर्न बोर्डले भनेको छ ।


क्लिकमान्डु