आजदेखि काठमाडौंमा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आज (असोज १) गतेदेखि धुमपान निषेध गरेको छ ।

महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ ।

साथै, महानगरले सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रहसमेत गरेको छ ।


क्लिकमान्डु